सोमत घिमिरे/ मेरो पालिकामा अब निर्वाचित हुने जनप्रतिनिधिलाई फ्रान्सका सहर, अमेरिका र युरोपको इतिहास थाहा नभए नि नहोस्, गान्धीवाद र माक्र्सवाद थाहा नभए नि नहोस् तर आफ्नो पालिकाको खोलानाला, खेतपाखा, वनजंगल, जडीबुटी र अनिकाल थाहा होस् । महिला र दलितले भोग्नुपरेका अन्यायहरू थाहा होस् ।कुनै नर्सिङ होम र निजी विद्यालयमा लगानी गरेको नहोस् । मेरो जनप्रतिनिधिसँग जथाभावी चौतारो, पाटीपौवा, खानेपानीको मुहान भत्काउँदै हिँड्ने डोजर नहोस् । प्रकृतिभन्दा मानिस ठूलो होइन, प्रकृति र मानिससँगसँगै यात्रा गर्नुपर्छ भन्ने मान्यता राखोस् । तल बगेको खोलो, यिनै खोल्साखाल्सी, यिनै वनजंगल, यिनै खेतपाखा छ र त हामी छौँ भन्ने बुझोस् ।
कुनै उपभोक्ता समिति वा कुनै पदमा बसेर नाजायज लाभ लिएको व्यक्ति नहोस् । चुनावमा शिक्षक र कर्मचारीसँग चन्दा माग्ने नहोस् । व्यापारीसँग पनि चन्दा माग्ने नहोस् । मलाई थाहा छ, हाम्रा पार्टीहरू व्यापारीका चन्दाले बिग्रिएका छन् । जनता छाडेर व्यापारीतिर ढल्किएका छन् । निर्वाचित जनप्रतिनिधिले घरघरमा रेल पु¥याउने, दाउराविनै बल्ने चुलो बनाउने, सबैको चुलोमा ग्यासको पाइप जोड्ने, रामसीताको मन्दिर बनाई स्वर्ग पुर्याउनेजस्ता सपना नबाँडोस् । मतदाताले मत दिएर मात्रै पुग्दैन । आफैँ उत्पादन गर्ने, आफैँ पकाउने र आफैँ खाने गर्नु पर्नेछ । निर्वाचित प्रतिनिधिले मतदाताको कडा श्रमको पनि अपेक्षा गरोस् । किनकि कुनै पनि मुलुक मागेर धनी भएका छैनन्, कडा श्रमले धनी भएका छन् ।
दिनदिनै कृषियोग्य जमिन नष्ट हुँदै गएको छ । भोलि कहाँ अन्नपात रोप्ने हो रु के खाने हो रु आजैदेखि पिर गर्नु जरुरी छ । पालिकाले कृषियोग्य जमिनलाई नष्ट हुन नदेओस् । हामीले खेतीयोग्य जग्गालाई आफ्नो छोराछोरीलाई जस्तै माया गर्नुपर्छ । सहर निर्माण गर्दा खेती नहुने डाँडामा गरियोस् । सहर निर्माण गर्दा हाम्रै मौलिक घरको सहर बनाइयोस् । सहरमा हाम्रै हस्तकलाका सामग्री राखियोस् । त्यो सहरमा स्थानीय उत्पादित पेयपदार्थ पाइयोस् । हाम्रो पालिकाको सहरमा कोक होइन, मोही बिक्री होस् । मोहीलाई प्रोत्साहन र कोकलाई निरुत्साहन गरियोस् । हाम्रो ऐतिहासिकता र आफ्नै संस्कृति झल्कने गरी वेशभूषा, खानपानलाई व्यवस्थित गरियोस् ।
एउटा कुरामा धेरै चिन्ता लाग्छ । गाउँबाट पैसा बाहिर धेरै गयो । मोटरसाइकल, डिजेल, मोबाइलजस्ता सामानमा नियन्त्रण गर्न निकै गाह्रो छ । तर, खाद्यान्नमा भने सहरलाई आत्मनिर्भर बनाउन सकिन्छ र बाहिरको पैसा हाम्रो पालिकाभित्र छिराउन सकिन्छ । पर्यटकीय क्षेत्र भन्नेबित्तिकै भ्युटावर, स्थानीयलाई फाइदा नहुने ठूला होटेल, ठुल्ठूला सपिङ कम्प्लेक्स, विदेशी खाना र पेयपदार्थ राखिएका पसल होइन भन्ने मेरो मान्यता हो । पर्यटनले गाउँलाई आर्थिक फाइदा हुनुपर्छ, स्थानीयको खर्च गर्ने ठाउँ पर्यटकीय क्षेत्र हुनुहुँदैन ।
कृषि विकासको नारा मात्रै होइन, प्रत्येक परिवारले खेती गरून् । पारिवारिक खेतीमा जोड दिनुपर्छ । साना किसान वर्गीकरण गरी अनुदान भित्रियोस् । आफैँ श्रम गरेर पसिना बगाउने किसानले मात्रै अनुदान पाउनुपर्छ । किसानले पेन्सन पाउने व्यवस्था होस् । किसानहरू पालिकाको कार्यालयमा आएर अपमानित हुनु नपरोस् । पालिका आफैँ किसानको घरघर पुगोस् । प्राविधिकले उत्पादनमा सहयोग गरोस् । प्रत्येक घरमा धेरै थरी तरकारी लगाएको करेसाबारी होस् । अहिले तरकारी कम खाने र खाए पनि विषादी हाल्ने प्रचलनले हाम्रो स्वास्थ्य बिग्रिँदै गएको छ । विषादीरहित उत्पादन होस् । यस्तो उत्पादनमा अनुदान र प्राविधिक सहयोग पालिकाले गरोस् । बिहान उठेपछि प्रत्येक नागरिकले आफ्नै घरको दूध र फलफुल खाऊन् । विषादीरहित हरियो तरकारी खानासँग खाऊन् । आफ्नै उत्पादन खाऊन् । स्वस्थ नागरिक भए मात्रै देशमा पसिना बगाउन सकिन्छ । आफ्नै पौरखले देश उँभो लगाउन सकिन्छ ।
बाटो र बिल्डिङमा धेरै खर्च नगरेपछि उत्पादनमा पैसा लगाउन पुग्छ । पालिकाभित्र कृषि, पशु, फलफूल पकेट क्षेत्र बनाइयोस् । पशुका लागि अनुदानको व्यवस्था होस् र एउटा डेरी सञ्चालन होस् । किसानले त्यस डेरीमा ल्याएर दूध बेचून् । हाम्रो पालिकामा उत्पादन कम छ । उत्पादन भइहाले पनि बिक्री हुँदैन ।
बजारीकरणका लागि गाउँका काबिल युवाको सहकारी निर्माण होस् । सहकारीले पनि अनुदान पाओस् । त्यो यस्तो सहकारी होस्, जसले किसानले उत्पादन गरेको सबै उपज किनोस् र बजारीकरण गरोस् । किसानको काम उत्पादन गर्ने र सहकारीको काम बजारीकरण गर्ने हो । बजारको झन्झट किसानलाई नहोस् । विज्ञहरू तथ्यांक प्रस्तुत गर्छन्, भारतबाट कति दाल, चामल, तरकारी ल्याइयो भनेर । आङ जिरिंग हुन्छ । नेपालभरि बाँजो जग्गा ४० प्रतिशत छ भन्दा रुन मात्रै सक्दिनँ । तसर्थ बाँजो जग्गालाई उत्पादनमूलक बनाउन सहकारीहरू स्थापना होस् । पालिकाभरिको बाँजो जग्गा उपयोग गर्ने व्यवस्था होस् । सहकारीलाई निश्चित अनुदान मिलोस् । यस्तो सहकारीले गरेको उत्पादन पनि बजारीकरणवाला सहकारीले बेच्ने काम गरोस् । व्यावसायिक किसानलाई पनि प्रोत्साहन गरिनुपर्छ ।
पारिवारिक खेती, सामुदायिक खेती, सहकारी खेती, बाँजो जग्गामा खेती गरी उत्पादन बढाइयोस् । कृषि उपजलाई औद्योगीकरणको प्रक्रियामा लैजान युवालाई अगाडि बढाइयोस् । उत्पादन र औद्योगीकरणको प्रक्रियामा विशेष प्याकेजमार्फत अगाडि बढाइयोस् । कृषि अब केवल आत्मनिर्भरताका लागि खान मात्रै नभएर पैसा आयआर्जन गर्ने ठाउँ, रोजगारी दिने क्षेत्र होस् । तर, कृषिले धेरै संख्यामा रोजगारी दिन भने सक्दैन । रोजगारीलाई भन्दा स्वरोजगारीलाई प्रवद्र्धन गरियोस् । पढेलेखेका युवाहरू अरब–कतारको तातोमा जान नपरोस् । प्रमाणपत्र फाइलमा बोकेर, शिर झुकाएर, हीनताबोध पालेर जागिर खोज्न हिँड्नुनपरोस् । हाँसीखुसी पारिवारसित बसी आफ्नै पालिकामा स्वरोजगार र रोजगार सिर्जना होस् । यसका लागि जंगललाई कसरी उत्पादनमूलक बनाउन सकिन्छ रु कसरी रोजगारी सिर्जना गर्न सकिन्छ रु यसमा विस्तृत अध्ययन होस् । हाम्रै माटो, हाम्रै जंगल र हाम्रै पानीलाई संरक्षण र उपयोग गरी पैसा कमाउने तरिका खोजियोस् । हाम्रा युवाहरू हाम्रै पालिकाभित्र स्वरोजगार र रोजगार भएर हाँसीखुसी र शिर ठाडो पारी बसून् ।
पालिकाभित्रका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका व्यक्तिहरू सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यायलमा पढाउने गरी ऐन, नियम बनाइयोस् । यस्तो नियम लागू हुन सकेन भने पनि जनप्रतिनिधिले आफ्नो छोराछोरी सामुदायिक विद्यालयमै पढाओस् । प्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी पढाएपछि सामुदायिक विद्यायप्रति चासो बढ्छ र स्तरोन्नति हुन्छ । शिक्षकलाई नियमित कक्षा लिन सहजीकरण र नियमन गरियोस् । शिक्षकहरूले नपढाएर नै सामुदायिक विद्यालय बिग्रिएको हो । यद्यपि हामीलाई शिक्षकको अधिकारमा कानुनले ठगेको छ तैपनि प्रयत्न गरियोस् । विद्यालयमा केटाकेटी पढ्ने मात्रै होइन, अतिरिक्त क्रियाकलापमा भाग लिनुपर्छ । पालिकाभित्रका खेलकुदलाई विद्यालयस्तरमा व्यवस्थापन गरिनुपर्छ ।
पढे–लेखेका युवा अरब–कतारको तातोमा जान नपरोस् । प्रमाणपत्र फाइलमा बोकेर, शिर झुकाएर, हीनताबोध पालेर जागिर खोज्न हिँड्न नपरोस् । हाँसीखुसी परिवारसित बसी आफ्नै पालिकामा स्वरोजगार र रोजगार सिर्जना होस् ।
हाम्रो परम्परागत खेलहरू विद्यालयमा खेल्ने वातावरण बनाइयोस् । विद्यालयमा हराभरा विद्यार्थी, शिक्षक र अभिभावक होस् । पाठ्यक्रमको अतिरिक्त स्थानीय अगुवाहरूबाट आफ्नो गाउँको गौरवबोध, स्थानीय वेशभूषा, खाना र संस्कृतिको महत्व, आफ्नो वनजंगल, जडीबुटीको जानकारी गराउने प्रबन्ध मिलाइयोस्, ताकि विद्यार्थीलाई आफ्नो गाउँप्रति गौरव बढोस् । विद्यालयमा गाउँको भेदभावले पारेको नकारात्मक प्रभाव, छुवाछुत अन्त्य, महिला–पुरुषको विभेद अन्त्य, चर्को ब्याजको मर्का, बाल–विवाहको अन्त्यजस्ता विषय पनि समेटेर पढाइयोस् । ताकि विद्यार्थीहरू विभेद अन्त्यका लागि सानैदेखि तयार होऊन् । शिक्षक–अविभावक अन्तर्क्रिया, विद्यार्थी–शिक्षक अन्तत्र्रिmया राखी विद्यालयलाई अगाडि बढाउन मद्दत गरियोस् । विद्यालय व्यवस्थापन समितिलाई सक्रिय र प्रभावकारी बनाई अभिभावकको विद्यालयमा सक्रियता बढाइयोस् । यसका लागि धेरै ठूलो खर्च लाग्दैन, केवल विचारको कुरा हो । आफ्ना केटाकेटी राम्रो स्कुलमा पढाउन पाइनँ भनेर कुनै अभिभावकले चिन्ता लिनु नपरोस् ।
हाम्रा जनप्रतिनिधि बिरामी हुँदा उनले गाउँकै स्वास्थ्यचौकीमा उपचार गरून् । आफ्ना नातागोता सबैलाई गाउँकै स्वास्थ्यचौकीमा उपचार गराउने वातावरण तयार पारून् । क्लिनिक नियमन गर्न जनप्रतिनिधिलाई गाह्रो नहोस् । स्वास्थ्यचौकीलाई राम्रो बनाउनुको साथै हाम्रा परम्परागत जडीबुटी उपचार पद्धतिलाई पनि अगाडि बढाइयोस् । देखेको छु, काठमाडौँका नामी डाक्टरहरू कमलपित्त रोग लाग्दा जडीबुटी औषधि खान्छन् । हामीले हाम्रो हर्रो, बर्रो र अमलालाई हेला गरेको चित्त बुझेको छैन । हाम्रो पालिकाको स्वास्थ्य नीति दुईथरी होस्, एउटा स्वास्थ्यचौकीलाई व्यवस्थित बनाउने अर्थात् स्वास्थ्यचौकीमा डाक्टर, औषधि र औजार होस् । अर्को हाम्रा परम्परागत विधिहरूलाई प्रवद्र्धन गरियोस् । अन्धविश्वासलाई होइन, हाम्रा पुर्खाको वैज्ञानिकतालाई अगाडि बढाउने नीति अगाडि बढाइयोस् । निःशुल्क स्वास्थ्य हाम्रो गाउँपालिकाको विशेषता होस् ।
बाढी, पहिरो, नदीकटानले हामी आक्रान्त छौँ । यस्ता सवालको सम्बोधनको लागि स्थानीय समुदायलाई स्वयंसेवीका रूपमा परिचालित गरियोस् । पालिका साथमा होस् । वन समूह, सिञ्चाइ समूह, कृषि समूह, जनजाति समुदायका गुठी, सामुदायिक समूहसँग सहकार्य गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको बाटो लिइयोस् । पालिकाले यस्ता समूहहरूलाई शासन होइन, सहयोग गर्नुपर्छ भन्ने मान्यता राखियोस् । अन्त्यमा जनप्रतिनिधिले यस्तो काम गर्दा पार्टीको घोषणापत्रअनुसार नमिल्न सक्छ । पार्टी र जनप्रतिनिधिबीचको विवादलाई वैचारिक बहसका माध्यमबाट समाधान गरियोस् ।
नयाँ पत्रिकाबाट साभार