BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
कला/ संस्कृति भक्तपुर नगरपालिका समाज

आधामात्र उठ्यो ल्योसिं, बिस्का खल्लो

वैशाख, १, भक्तपुर । प्रसिद्ध बिस्का जात्राको मुख्य आर्कषणको रप रहेको ल्योसिंद्यो (लिंगो) आधा मात्र उठेको छ । जात्राको क्रममा वर्षको अन्तिम दिन उठाउने प्रचलन रहेको ल्योसिंद्यो आधा मात्र उठाउन सफल भएको हो । भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो उठाउन हिजो साँंझदेखि राति ११ बजेसम्म प्रयास गरे पनि ल्योसिंद्य उठाउन सकेनन् ।

स्थानीयहरुले आधामात्र उठाएर छोडेको ल्योसिंद्योको विहानै भक्तजनहरुले दर्शन गरिरहेका छन् । बिहानै दर्शनका लागि विभिन्न ठाउँमा आएका भक्तजनहरुले आधामात्र उठेको ल्यासिंद्यो देखेर बिस्का नै खल्लो भएको बताए ।

‘पहिला पहिला पूरै उठ्थ्यो, तर गएको वर्ष र यो वर्ष पनि आधा मात्र उठेको छ’, ल्योसिंख्यमा भेटिएका ज्येष्ठ नागरिक लाल भेलेले भने, ‘लिंगो उठाउने तरिका नजान्दा यस्तो भएको हो ।’

उनले ल्योसिंद्यो उठाउनका लागि बलमात्र नभएर बुद्धि पनि चाहिने, बल र बुद्धिको संयोजन गरी उठाउनुपर्ने बताए । उनले नयाँ पुस्ताका व्यक्तिहरु बलको मात्र प्रयोग गर्ने गर्दा ल्योसिंद्यो पूरा उठ्न नसकेको बताए ।

उनले पूरा उठ्न नसकेको ल्योसिंद्यो हेर्दा बिस्का नै पूरा नभएको अनुभूति भएको बताए । उनले ल्योसिंद्यो उठाउनका लागि विभिन्न प्रविधि उपयोग गरे पनि त्यो प्रभावकारी नभएको समेत बताए ।

बुधबार राती अबेरसम्म सयौं युवाहरुले डोरीको सहायताले ल्योसिंद्यो उठाउने प्रयास गरेका थिए । घण्टौको प्रयासपछि पनि ल्योसिंद्यो उठाउन सफल भएको थिएन ।

५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर ल्योसिंद्य उठाउने नसकेको इतिहास भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई बैशाख १ गते जसरी पनि उठाएर ढाल्ने गरिन्छ । यसलाई उठाउन आज पनि दिनभर प्रयास हुनेछ । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । तर कुनै वर्ष यसरी उठाउन नसकिने हुन्छ ।

चैत मसान्तमा उभ्याउनुपर्ने तर नभ्याउन नसकेको योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ । उठाइएको लिंगोलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ।

आठ रात नौ दिन लामो विस्का जात्राको यो सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु यो जात्रा हेर्न आउने गर्दछन् ।

यसअघि नयाँंवर्ष चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि।सं।१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।

किंम्बदन्ती

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ । यसबाहेक पनि जात्रा सम्वन्धी अनेक किंम्वदन्ती छन् ।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ)माथि सवारी हुने भनिन्छ । यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिन्छ ।

थप ख़बर

भक्तपुरको आसन्न स्थानीय निर्वाचनः कुन नगरमा कोको देखिए आकांक्षी?

भक्तपुर टाइम्स

नेवारहरुमा टीकामा दक्षिणा वा पैसा दिने चलनै छैन : संस्कृतिविद्

भक्तपुर टाइम्स

सुडालका ४५ जना बढी नेपाली कांग्रेस प्रवेश

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy