भक्तपुर, २९ चैत । चाँगुनारायण नगरपालिकाले महेन्द्रग्राम माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ ।
विद्यालयमा बढिरहेको विद्यार्थी संख्या र अभिभावकको मागलार्इृ ध्यानमा राखी विद्यालयलाई बस हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले २५ लाख रुपैयाँ र विद्यालयको आफ्नै लगानीमा खरीद गरिएको ४१ सिट क्षमताको सो बस नगर प्रमुख सोमप्रसाद मिश्रले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्कीलाई हस्तान्तरण गरेका थिए ।
विद्यालयले बस पाएसँगै विद्यार्थीहरु लाभान्वित हुने विद्यालयका प्रधानध्यापक सोम श्रेष्ठले बताए । उनले सो बस जितपुर–कमलविनायक–च्याम्हासिंह– रानीबारी– तुइतुइ टोल– अधिकारी टोल– सुडालको मािथल्लो हाइटसम्म पुग्ने बताए ।
यसैबीच सोही कार्यक्रममा विद्यालयका चार शिक्षकलाई बिदाई पनि गरिएको छ । सो विद्यालयमा लामो समयदेखि अध्यापनरत रामभक्त बानियाँ, मिरा खत्री, दामोदर न्यौपाने र केशब सुवेदीलाई बिदाइ गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै शैक्षिक सत्र २०७६/०७७ मा कक्षागत रुपमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।