भक्तपुर, २९ चैत । भक्तपुरको ताथली फैढोकामा शिव मन्दिर उद्घाटनका लागि महायज्ञ हुने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोकामा स्थानीयहरुको सक्रियतामा निर्माण भएको शिव मन्दिरमा रहेको शिवको मूर्तिमा प्राण प्रतिष्ठा गर्नका लागि भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको हो र
२०७९ सालको बैशाख १ गतेबाट हुने सो श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ ९ गते सम्पन्न हुने छ ।
त्यसका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति गठन गरिएको छ ।
समितिका संयोजक भूपेन्द्र बुढाथोकीले चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा धार्मिक पर्यटनको विकास गर्नका लागि लामो समयदेखि निर्माण गरिरहेको फैढोका शिव मन्दिरसँगै ताथलीकै प्रचारप्रसारका लागि महायज्ञ गर्न लागेको बताए । उनले महायज्ञको लागि सबै तयारी सकिएको समेत जानकारी दिए ।
महायज्ञमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बालव्यास पं. मुकुन्द नेपालले कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ भने महायज्ञको उद्घाटन बैशाख १ गते कलशयात्रासँगै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमले गर्ने कार्यक्रम तय भएको आयोजक समितिले जनाएको छ ।
आयोजक समितिका अनुसार २०७९ वैशाख १ गते विहान ८ बजेबाट शोभा कलश यात्रा समुद्घाटन, २०७९ वैशाख २ गते देखि ८ गते सम्म प्रत्येक दिन पूजा अर्चना, महात्म्य, भजन किर्तन, पाठपारायण, संगितमय कथा प्रवचन तथा भगवानका झाँकी लिला, २०७९ वैशाख ८ गते तिलाचन र २०७९ वैशाख ९ गते पूर्णाहुति प्रसाद वितरण हुने आयोजकले जनाएको छ ।
video : https://www.youtube.com/watch?v=RlbcBJg6H_c