भक्तपुर, २५ चैत । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मेयरका लागि नेकपा एमालेका पाँच जना आकांक्षी देखिएका छन् । उनीहरुले मेयर पद आफूले पाउनुपर्ने दाबी समेत गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले भक्तपुरले सूर्यविनायक नगरपालिकाका लागि मेयरका उम्मेदवार छनौट प्रक्रिया सकाएको छ । मेयर पदमा ५ जना आकांक्षी देखिएको पार्टीले जनाएको छ ।
मेयरको लागि दाबी गर्नेहरुमा बासुदेव थापा, किरण थापा, राजेन्द्र राजथला, सन्तोष ढुङ्गेल र राजकुमार सिलवाल रहेका छन् । दाबी गर्नेहरुमध्ये बासुदेव थापा वर्तमान मेयर हुन् भने किरण थापा वडा नं. ८ का वडा अध्यक्ष हुन् । मेयर थापाले पुनः कार्यकाल दोहोर्याउन चाहेका छन् भने वडा अध्यक्ष थापा मेयरमा पदोन्नति हुन चाहेका छन् ।
यसैगरी दाबी गर्नेहरुमध्ये राजथला नेकपा एमाले भक्तपुरका पूर्व अध्यक्ष समेत हुन् । पाँच जनाको उम्मेदबारी परेपछि टिकट कसले पाउने भन्ने विषय अहिले चर्चाको विषय बनेको छ ।