भक्तपुर, १५ चैत । भक्तपुरमा हुने पुस्तक प्रदर्शनीको प्रचारार्थ क्यानभासमा भक्तपुर नामक एक दिने कला कार्यशाला हुने भएको छ ।
आरम्भ नेपालले आगामी २१, २२ र २३ गते भक्तपुरको लामगालमा गर्न लागेको आरम्भ पुस्तक प्रदर्शनीको प्रचारार्थ ‘क्यानभासमा भक्तपुर’ नामक एकदिने कला कार्यशाला हुने भएको हो ।
स्याटरडे प्लेन आर्टको विशेष सहयोगमा चैत १७ गते भक्तपुरका तीन ठाउँमा कार्यशाला हुने आयोजक समितिले जनाएको छ । आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले सो कार्यशालामा ३० बढी चित्रकलाका कलाकारहरूको सहभागिता रहने जानकारी दिए । उनले भक्तपुरको दत्तात्रय, टौमढी तथा दरबार स्क्वायर क्षेत्र छनोट गरी गरिने कार्यशालाका लागि आवश्यक क्यानभास तथा रंग आयोजक आरम्भ नेपालले उपलब्ध गराउनेछ ।
कार्यशालामा चित्रकलाका ख्यातिप्राप्त कलाकारहरु दिवेश प्रधान, राधेश्याम कर्माचार्य, पुण्यराम मातां, नारायण बोहजू, बालकृष्ण बनमाला, राकेश श्रेष्ठ लगायतको सहभागिता रहने छ । सो समयमा बनाइएका चित्रकलाहरु प्रदर्शनीमा राखिनुका साथै बिक्री समेत गरिने आयोजकले जनाएको छ ।