भक्तपुर, २ चैत । आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका र्यापर बालेन शाहले भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिसँग भेट गरेका छन् ।
इन्जिनियर समेत रहेका शाह र नगर प्रमुखबीच भक्तपुर नगरपालिकाको कार्यकक्षमा भेट भएको हो । महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै चर्चाको चुुलीमा उक्लिएका चर्चित र्यापर बालेन शाहले भेट महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् : मैले बारम्बार भनिरहेको कुरा हो, काठमाडौँ हेर्दा भक्तपुर जस्तो हुनुपर्छ भनेर । आज भक्तपुरको मेयर सुनिल प्रजापतीज्यू सँग भेट हुँदा हामीले अमेरिका, जापानबाट वा विदेशी विकास प्रेमी नेताबाट सिक्नेभन्दा , उहाँबाट नि धेरै सिक्न पाइयो । उच्च शिक्षाको लागि नगरपालिकाले बिना ब्याज ऋण, नगरपालिकाको आफ्नै कलेज, आफ्नै अस्पताल, आफ्नै प्राबिधिक कलेज, आफ्नै शिक्षा नीति, सम्पदा सुची वरिपरि घर जग्गा किन बेच गर्न नपाइने, एनजिओ, आइएनजिओको प्रभावबाट मुक्त, विदेशी सहयोग लिन नखोज्ने आफै स्वावलम्बी हुन कोशिस गर्ने, आफ्नो शीप, कौशल अर्को नगर, गाउँमा नि फैलाउन दक्ष जनशक्ति उत्पादन गरि सकेका मेयर प्रजापति साच्चिकै उदाहरणीय व्यक्तित्व हुनु हुन्छ।