BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर नगरपालिका समाचार समाज स्वास्थ्य

एसडीटिसी भक्तपुरलाई तोकियो ब्रेन डेथ भएका व्यक्तिको अंग दान समन्वय केन्द्र

भक्तपुर, १ चैत । सरकारले ब्रेन डेथ भएका व्यक्तिको अंग दान गर्ने व्यवस्था कार्यान्वयनका लागि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (एसडीटिसी ) भक्तपुरलाई समन्वय केन्द्र तोकेको छ। सरकारले ब्रेन डेथ भएका व्यक्तिको अंग दान गर्ने व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयन गर्न भक्तपरको दूधपाटीस्थित सो केन्द्रलाई समन्वय केन्द्र तोकेको हो ।

ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपणबाट बर्षेनी हजारौ व्यक्तिलाई बचाउने सकिने भए पनि यसमा खासै उपलब्धि हासिल हुन नसकिरहेको अवस्थामा सोसम्बन्धी थप काम गर्न केन्द्र स्थापना गरिएको केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले बताए ।

नेपालमा बिसं २०७२ सालमा अंग प्रत्यारोपण ऐन आएको थियो । सो ऐनपछि ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सक्ने कानून आएको हो । पहिले नजिकका नातेदारले मात्र अंग दान गर्न सक्ने कानून भएपनि अहिले नाता सम्बन्ध पर्ने जो सुकैले पनि अंग दान गर्न सक्ने कानूनी व्यवस्था छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण विज्ञ डा श्रेष्ठले कुनै पनि व्यक्तिले आफ्नो मृत्यु पछि अंग दान गर्न चाहेको अवस्थामा केन्द्रमा सम्पर्क राखेर इच्छापत्र लिन सक्ने व्यवस्था गरेको बताए । ‘कुनै व्यक्तिको सडक दुर्घटना वा अन्य कारणले ब्रेन डेथ भएको अवस्थामा उक्त व्यक्ति उपचाररत अस्पतालले ब्रेन डेथ भएको घोषणा गरेपछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको समुन्वय एकाईलाई खबर गर्नु पर्छ । केन्द्रले विज्ञ चिकित्सकिय टोलीले ब्रेन डेथ भएको अस्पतालमा गई ब्रेन डेथ भएका व्यक्तिका आफन्त वा नातेदारहरुसँग सल्लाह गरेर उनीहरुको सहमती दिएमा ब्रेन डेथ भएको व्यक्तीको अंग निकालेर अंग प्रत्यारोपण आवश्यक भएको जिवित व्यक्तीमा प्रत्यारोपण गर्ने गरिन्छ’, उनले भने ।

उनका अनुसार नेपालमा हरेक वर्ष ३ हजार भन्दा बढीको बर्षेनी मिर्गौला फेल हुने गरेको सरकारी तथ्यांक छ । उनले बर्षेनी ३ हजारको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने आवश्यकता भएको बताए । ‘तर देशभरि मुस्किलले ३ सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुन्छ । यसको सोझो अर्थ हो, मिर्गौला प्रत्यारोपणको माग अत्यधिक छ तर त्यसको तुलनामा आपूर्ति एकदमै न्यून छ । मिर्गौला प्रत्यारोपणमा यो सबैभन्दा ठूलो चुनौति हो’, उनले भने, ‘जिवित व्यक्तिहरुले मात्र अहिले गरि रहेको मिर्गौला दानले यो खाडललाई पुर्न सक्दैन ।’

ठूलो संख्यामा ब्रेन डेथ (मष्तिस्क मृत्यु) भएका व्यक्तिको मिर्गौला झिकेर जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए मात्र यो समस्या धेरै हदसम्म हल हुने प्रत्यारोपण विज्ञहरु बताउँँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा बर्षमा करिव २ हजार बढीले सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । ती मध्ये करिव एक हजारको ब्रेन डेथ हुने गरेको छ । यी एक हजारको मिर्गौला लगायत कलेजो, प्यांक्रियाज, ठूलो आन्द्रा । सानो आद्राजस्ता अंग निकालेर जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए हजारौको जिवन बचाउन सकिने विज्ञहरुको दावी छ ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार एक जना ब्रेन डेथ भएको व्यक्तिबाट आठ वटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अंग दान मार्फत प्राप्त हुने अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए नेपाल अंग प्रत्यारोपणमा आत्म निर्भर हुने डा श्रेष्ठको दावी छ ।

ब्रेन डेथमा धेरै संभावना भए पनि नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अंग जिवित व्यक्तिमा प्रत्यारोपण गरिएको संख्या थोरै छ । डा श्रेष्ठका अनुसार अहिलेसम्म नेपालमा ३ जना ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला ६ जनामा प्रत्यारोपण गरिएको छ भने एक जनाको कलेजो प्रत्यारोपण गरिएको छ ।

थप ख़बर

रोशी र नमोबुद्ध नगरपालिकामा राहत वितरण

भक्तपुर टाइम्स

डोलेश्वरमा श्रावणी मेलाबाट ९० लाख रुपैयाँ आम्दानी

भक्तपुर टाइम्स

एसईई खारेज नगर्न नेसनल प्याब्सन भक्तपुरको माग

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy