भक्तपुर । श्वेत भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा साइबर अपराध सम्बन्धी एकदिने अन्तरक्रियात्मक कार्यक्रम भएको छ ।
सूर्यविनायकको घ्याम्पे डाँडा होटलमा सम्पन्न सो कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले हाल भक्तपुरमा प्रविधिको प्रयोग गर्ने बृद्धि भएसँगै सामाजिक सञ्जाल प्रयोग गरी गाली गर्ने, वेभसाइट ह्याक गर्ने, विशिष्ट व्यक्तिको फोटो इडिट गरी स्वरुप परिवर्तन गर्ने, अश्लील फोटो÷भिडियो पठाउने र सञ्जाल मार्फत जिस्काउने, अपमान गर्ने जस्ता विषयमा कारबाहीका लागि निवेदन पर्ने गरेको बताए ।
उनले लकडाउनपछि साइबर अपराधको घटना निकै बढेको देखिएको उल्ल्ेख गर्दै ह्याकरहरुले झुक्याएर पैसा उठाउनेहरुको बिगबिगीले गर्दा भक्तपुरमा पनि केही घटना घटिसकेकाले सचेत रहन निरीक्षक श्रेष्ठले आग्रह गरे ।
त्यसका लागि साइबर क्राइम के हो?, साइबर क्राइम कसरी भइरहेका छन्? कसरी निर्मूल गर्न सकिन्छ?, कहाँ रिपोर्ट गर्ने ?आदि विषयमा जानकार हुनुपर्ने आवश्यकता औंल्याए ।
सहभागीहरुको जिज्ञासा मेट्दै उनले बैंक तथा वित्तीय संघ संस्थामा सर्भर ह्याक गरेर खातामा जम्मा रहेका निक्षेप तान्ने, अचानक धेरै मात्राको ब्यालेन्स देखा परेमा तुरुन्त प्रहरीमा खबर गर्नु पर्ने साथै उनले बैंक तथा वित्तीय संघ÷संस्थाले पनि आफ्नो सर्भरको सुरक्षा आफै गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जितेन्द्र खायमली, रमण बोहजू, लक्ष्मीप्रसाद दुवाल, रत्नसुन्दर खायमली, रिता लाखेमरु, कमलकेशरी खायमलीलगायतले आ–आफ्नो धारणा राख्दै सो अन्तरक्रियाबाट आफूहरु लाभान्वित भएको बताए ।