भक्तपुर, २२ फागुन । नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशकी सांसद सृजना सैंजुले नेपाली काँग्रेसका कारण देश र जनताले दुःख पाइरहेको बताएकी छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीलाई बालमैत्री घोषणा गर्दै उनले बालबालिकाले पनि राजनीतिमा सहभागी हुनपर्ने र राजनीतिमा सहभागी हुनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताइन्।
‘देशलाई बिगारेको, देशलाई सोत्तर बनाउन खोज्ने प्रमुख पात्र भनेको काँग्रेस हो । र, काँग्रेसको पथमा हिँड्ने अन्य काँग्रेसका भाइहरुले पनि देशलाई बिगारेको हो’ उनले भनिन्, ‘आजसम्मको सरकारमा धेरैपटक गएको पार्टी पनि काँग्रेसै हो। हामीले काँग्रेसको प्रवृत्तिको विरोध गरेका हौं अथवा गर्नुपर्छ । आजको बालबालिकालाई त्यो भन्नैपर्छ । जबजब ऊ सासन सत्तामा गयो, तबतब उसले देशलाई क्षति हुने काम गरेको छ, देशलाई बेच्ने काम गरेको छ । टनकपुर कसले सम्झौता गर्यो भन्दा काँग्रेसले, महाकाली कस्ले बेच्यो भनेर प्रूश्न गर्दा काँग्रेस, अनि उसलाई सघाउनेहरु काँग्रेस पथमा जाने शासक दलहरु ।’
उनले ‘कोशी कसले बेच्यो, काँग्रेसले, गण्डक कसले बेच्यो, काँग्रेसले, माथिल्लो कर्णालीको सम्झौता कसले गर्यो, काँग्रेसले, पश्चिम सेतीको सम्झौता कसले गर्यो, काँग्रेसले, अरुण तेस्रोको सम्झौता कसले गर्यो, काँग्रेसले’ भन्दै थपिन्, ‘त्यसकारण आकारमा ठूलो हुँदैमा, उसले देश जोगाउँछ भन्ने हुँदैन । विचारले देश जोगाउने हो । त्यो विचार आजका भाइबहिनीहरुको निम्ति जरुरी छ । आजको बालबालिकाको निम्ति जरुरी छ ।’
सांसद सैंजुलेनेपालमा प्रजातन्त्र आएदेखि नै सरकारमा गएका दलहरुले जनताको हितका लागि काम नगरेको चर्चा गरेकी थिइन् । उनले नेपाली काँग्रेसको ७० वर्षको इतिहासले देशलाई अझ ध्वस्त बनाउने काम गरेको उल्लेख गरिन्, ‘कलकारखानाहरु कसले बेच्यो भनेर प्रश्न गर्दा उत्तर आउँछ, काँग्रेसले गर्यो, नेतृत्व काँग्रेसले गर्यो र काँग्रेससँगै जाने काँग्रेस मानसिकताकाहरुले गर्यो भनेर भन्नै पर्छ । यो यथार्थ लुकाएर देश बन्दैन । भोलिको भविष्य बन्दैन ।’
उनले ठेकेदारी भागबण्डा र सत्ताको खिचातानी, जालझेललाई राजनीति भन्न नहुने बताउँदै जनताको सेवा गर्नुलाई राजनीति भएको बताइन् । उनले राजनीतिबारे बालबालिकालाई बुझाउन जरुरी रहेको बताउँदै राजनीतिक बुझेका बालबालिका नै भोलिका भविष्य हुने र देशको जिम्मेवारी लिने बताइन् ।
अधिकांश समय नेपाली काँग्रेसको शासनका अवगुण औंल्याएकी उनले नेपली काँग्रेसकै कारण देश समस्या पर्दै गएको उल्लेख गरिन् । ‘अहिलेसम्म बालबालिकाका लागि देश छोडेर जाने सरकार आएकै छैन, देश बेचेर जाने सरकार आएको छ ।’
भिडियोका लागि यहाँ जानुहोस्: https://www.youtube.com/watch?v=H5hmFs4SdLQ&t=615s