भक्तपुर, १९ फागुन । भक्तपुर लिवालिको मुख्य सडकको पीच नगरेपछि स्थानीयले विरोध गरेका छन् । गत फागुन ६ गते कोतरिएको सो सडक पिच नगरेपछि उनीहरुले सांकेतिक रुपमा विरोध गरेका हुन् । उनीहरुले सो सडक चाँडो पिच गर्न माग समेत गरेका छन् ।
जगातिबाट भक्तपुर च्याम्हासिं आउने क्रममा धारा चोकबाट ख्वप इन्जिनियरिङ कलेज जाने सडक र ख्वप इन्जिनियरिङ कलेजपछाडिको ८ नं वडा कार्यालय जाने सडकको कालोपत्रे गर्न कोतरेर अलपत्र छाडेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । उनीहरुले सडक पिच नहुँदा आवतजावतमा समस्या भएको, धूलो खानुपरेको आक्रोसमा ‘धूलो खाएर इञ्जिनियर बन्ने हो?’ र ‘यो सडक कहिले पीच हुन्छ?’ भनी सोेधेका छन् ।
स्थानीयसँगै इञ्जिनियरिङ कलेज पढ्ने विद्यार्थी पनि आक्रोशित बनेका छन् । आक्रोशित स्थानीय र विद्यार्थीले लिवालिको चोकमा टार राखेर टायरमाथि उनीहरुले पोष्टर टाँस गरेका छन् ।
भक्तपुर नगरपालिकाले पीच गर्न लागेको सडकको काम ढिला भएपछि स्थानीय विरोधमा उत्रिएको स्थानीय कृष्ण दुमरुले बताए । भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले सडक कालोपत्र गर्नका लागि सडक कोतरिएको बताउँदै छिटो सडक पीच गर्ने बताए ।
उनले सो सडक उपभोक्ता समितिार्फत् गर्न लागिएको उल्लेख गदै सडक पीच गर्न बेस राखिसकेको र बेस चिसो भएका कारणले केही समय ढिला भएको जनाए । उनले लिवालि सडक खण्डमध्ये करिब ५ सय मिटर सडक ४९ लाख रुपैयाँमा सडक पीच गर्न लागेको बताए ।