भक्तपुर, १७ फागुन । महाशिवरात्रीको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । महाशिवरात्रीको दिन महादेवको विशेष पुजा गर्ने परम्परा अनुसार डोलेश्वरमा दर्शनार्थीको घुईंचो लागेको हो ।
महाशिवरात्रीको अवसरमा डोलेश्वर महादेवको मुल मुर्तिलाई स्पर्श गरेर पुजा गर्न पाउने व्यवस्था गरेको छ। मन्दिरको मुल ढोकाबाट प्रवेश गरी गर्भगृहमा रहेको मुल मुर्तिलाई स्पर्श गरेर पुजा गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।
डोलेश्वरमा वर्षको तीन पटक अक्षय तृतिया, भदौ ६ गते र महाशिवरात्रीको अवसरमा भक्तजनले मन्दिरभित्र प्रवेश गरी मुल मुर्तिलाई स्पर्श गरी पुजा गर्न पाउने व्यवस्था छ। महाशिवरात्रीको अवसरमा सर्वसाधारण भक्तजनका लागि डोलेश्वर महादेव मन्दिरको चारै ढोका विहान ४ बजेदेखि खुला गरिएको छ । मन्दिरमा विशेष पुजाका साथै हवन र रुद्धाभिषेक गरि पञ्चस्नान गराउने ब्यवस्था समेत समितिले मिलाएको छ । साँझ पाँच प्रहरको विशेष पुजाका साथै आरती गर्ने व्यवस्था गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए।
पछिल्लो समय डोलेश्वरमा शिवरात्रीको अवसरमा भक्तजनको साथै स्वदेश र विदेशबाट समेत उल्लेख्यरुपमा साधुसन्त र बाबाहरुको आगमन हुने गरेको छ । यसवर्ष महाशिवरात्रीका लागि करिव २ सय ५० साधुसन्त डोलेश्वर आइपुगेको कोषाध्यक्ष बल्ले बताए। महाशिवरात्रीकै अवसरमा भक्तपुरका आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेव र भक्तपुर नगरस्थित दत्तात्रयमन्दिरका साथै विभिन्न शिवालयहरुमा समेत दर्शनार्थीको घुईंचो लागेको छ ।
शिवरात्रीको दिन विहानै नुहाई धुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गंगाजल, गाईको दुध र शखरले स्नान गराई फलफुल, मिठाई, धटुरो र बेलपत्र चढाउने परम्परा रहेको छ । महाशिवरात्रीको दिन महादेवलाई पुजा गर्नाले घरमा सुख शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहित महिलाले महादेवको पुजा गर्नाले राम्रो वर पाउने धार्मिक आस्था रहेको छ ।