भक्तपुर, १६ फागुन । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप कलेज र अस्पतालका लागि दिएको रकम उल्लेख नगरेकोप्रति गुनासो गरेका छन् । उनले जिल्ला समन्वय समितिबाट जिससबाट नगरपालिकाका लागि दिएको बजेटबारे कुनै उल्लेख नगरेकोप्रति गुनासो गरेका हुन् ।
जिल्ला समन्वय समिति भक्तपुरको अर्धवार्षिक समीक्षामा उनले भक्तपुर नगरपालिकालाई दिएको बजेटबाट कहाँ कहाँ, के के भयो? भन्ने समेत खुलाउनुपर्नेमा जोड दिए ।
संघीय, प्रदेश सरकारका कार्यालयहरु तथा स्थानीय तहको आव ०७८/०७९ को अर्धबार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका चार नगरपालिका र संघीय तथा प्रदेशलगायतका १८ कार्यालयले चालू आवका ६ महिनामा भएको प्रगति समेटेर प्रस्तुति गरेका थिए।
सो प्रस्तुतिमा जिसस प्रमुख गेलालले असन्तुष्टि जनाउँदै नगरपालिकादेखि कार्यालयहरुसमेतले आफ्नो प्रस्तुतीकरण गर्ने तर छलफलमा नबसी जाने क्रम गलत भएको बताए। उनले मध्यपुरथिमि नगरपालिकाले कुनै पनि समीक्षामा प्रभावकारी प्रस्तुती नगरेको र जिम्मेवार व्यक्तिहरु पनि नआउने गरेकोमा आक्रोश व्यक्त गरे।
अर्धवार्षिक समिक्षामा जिससले एक साता अगाडि नै नगरपालिका तथा कार्यालयहरुलाई गत माघ मसान्तसम्मको प्रगति विवरण स्पष्ट बनाएर ल्याउन भनिएपनि त्यसो नगरिएको जिसस प्रमुखको गुनासो थियो ।