भक्तपुर, १६ फागुन । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले भक्तपुरको अग्रज महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ५ मा केन्द्रीय कार्यालय रहेको सो सहकारीमै पुगेर मेयर मिश्रले सोमबार अनुगमनसहितको भ्रमण र अन्तरक्रिया गरेका हुन् । ‘आजको बचत भोलिको आधार, अग्रजले पार्छ सपना साकार’ भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको सो सहकारीको अवलोकनका लागि मेयर मिश्र पुगेका हुन् ।
२०७२ सालको उत्कृष्ट सहकारीकर्मी पदक, २०७६ सालको कैलाशभक्त प्रधानाङ्ग पुरस्कार र २०७६ को उत्कृष्ट सहकारी पदकबाट पुरस्कृत सो सहकारीको व्यवस्थापनबारे बुझ्न तथा सहकारी क्षेत्रमा मौलाइरहेको विकृतिबाट बच्न अनुरोधसहित मेयर सहकारीमा पसेका थिए ।
‘हामी महिलाहरुले सञ्चालन गरिरहेको सहकारीको व्यवस्थापन, समस्याबारे बुझ्नका लागि उहाँ आउनु भयो, उहाँले हामीले सञ्चालन गरेको सहकारीको तौरतरिका बुझ्नुभयो,’ संस्थाका अध्यक्ष सन्तोषी खतिवडा(कार्की)ले बताइन् ।
उनले मेयर मिश्रले सहकारीका सञ्चालकहरुसँग सहकारी अभियान, महिला सशक्तिकरणका बारेमा अन्तरक्रिया समेत गरेको बताइन् । सो क्रममा मेयर मिश्रले भक्तपुरमा पछिल्लो समयमा बहुउद्देश्यीय सहकारीहरुको अवैध खेती फस्टाएकोले त्यसबाट स्थानीय सचेत हुन आग्रह गरेका थिए । उनले स्थानीय व्यक्तिहरुले सञ्चालन गरेका सहकारीहरुलाई मात्र विश्वास गर्न सकिने बताउँदै बहुउद्देश्यीय सहकारीबारे स्थानीय सहकारीहरुले सचेतना फैलाउनुपर्नेमा समेत जोड दिए ।
उनले चाँगुनारायण नगरपालिकामा पनि बहुउद्देश्यीय सहकारी दर्ताका लागि थुप्रै फाइलहरु आफ्नो टेबलमा आएको जानकारी दिँदै ती सहकारीहरुबारे अध्ययन भइरहेको बताए ।
संस्थाका पदाधिकारीहरुले मेयर मिश्रको अवलोकनप्रति आभार व्यक्त गर्दै सहकारीको वर्तमान अवस्थाबारे जानकारी दिएका थिए । उनीहरुले नगरपालिकाले महिला सहकारीकर्मीहरुको क्षमता वृद्धिका लागि नगरपालिकाले योजना र कार्यक्रम ल्याउनुपर्नेमा माग गरेका थिए । सहकारीका अनुसार अहिले सो सहकारीमा २ हजार ३ सयको संख्यामा महिला सदस्यहरु रहेका छन् ।