भक्तपुर, १६ फागुन । नमूना बन्ने बाटोमा अग्रसर भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालयको स्कुल बसमा मेयर, उपमेयर, जनप्रतिनीधि, नगर शिक्षा शाखालगायत चढेर कलेज पुगेका छन् ।
चाँगुनारायण नगरपालिकाको वडा नं. १ दुवाकोटस्थित चाँगुनारायण माध्यमिक विद्यालयको नयाँ स्कुल बसमा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, उपमेयर बिना बास्तोला, चाँगुनारायण नगर शिक्षा शाखा प्रमुख वीरबहादुर खड्कालगायत जनप्रतिीधि स्कुल बस चढेर नेपाल इञ्जिनियरङ कलेज गएका हुन् ।
विद्यालयमा बढिरहेको विद्यार्थीको आर्कषण र विद्यालय आउन र विद्यालयबाट फर्किन सहज बनाउन विद्यालयले व्यवस्था गरेको स्कुल बस हस्तान्तरणसँगै मेयर, उपमेयर, जनप्रतिनीधि सोही बस चढेर नेपाल इञ्जिनियरिङ कलेजमा तय गरिएको नमुना विद्यालय बनाउने गुरुयोजना प्रस्ताव सम्बन्धी कार्यपत्र प्रस्तुत तथा अन्तरक्रियामा सहभागी हुन गए ।
‘विद्यालयमा हरेक वर्ष विद्यार्थीको आर्कषण बढेको छ, अभिभावकहरुको माग पनि स्कुल बस रहेको छ, साथै यो विद्यालयमा टाढाटाढाबाट पनि विद्यार्थी आउन थालेका छन्, तिनीहरुको समस्या अभिभाववकको माका लागि स्कुलले स्कुल बस बन्दोबस्त गरेको हो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव खड्काले भने ।
त्यसरी विद्यालयको आवश्यकतालाई स्थानीय सरकार(नगरपालिका) ले पनि साथ दिएको थियो भने प्रदेश सरकारले पनि सहयोग गरेको थियो । चाँगुनारायण नगरपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ मा दश लाख रुपैयाँ र बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णलाल भडेलको पहलमा दश लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाइ छ । त्यसमा नपुग रकम विद्यालयले आफै व्यवस्था गरेको थियो ।
‘विद्यालयले चार लाख रुपैयाँ जोहो गरी कूल २४ लाखमा करिब ५० विद्यार्थीजना विद्यार्थी अट्ने स्कुल बस सञ्चालन गरेको छ,’ उनले भने । सो स्कुल बस मन्त्री भडेलले, उद्योग राज्यमन्त्री रजनी जोन्छे ,मेयर मिश्र, उपमेयर बास्तोला, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाइँ, शिक्षा शाखा प्रमुख खड्का, वडा नं १ का वडा अध्यक्ष राजेश खड्कालगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
विसं २००६ सालमा स्थापना भएको सो विद्यालयलाई नमूना बनाउने तयारीमा विद्यालय लागेको विद्यालयका प्रधानाध्यापक बाबुराम ढकालले जानकारी दिए।
विद्यालयमा हाल देशका ६५ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । कूल २५ रोपनी १२ आना क्षेत्रफल रहेको सो विद्यालयमा हाल ६३९ विद्यार्थी अध्ययन गरिरहेका छन्, जसमध्ये छात्रा ३०२ र छात्र ३३७ जना र शिक्षक दरबन्दी २४ जना रहेको छ ।