भक्तपुर, १५ फागुन । भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालय नमूना बन्ने बाटोमा अग्रसर बनेको छ। चाँगुनारायण नगरपालिकाको उत्कृष्ट विद्यालयको छवि बनाउँदै अघि बढेको सो विद्यालय नमूना बन्ने बाटोमा अग्रसर बनेको हो। वि.सं.२००६ सालमा स्थापना भएको सो विद्यालयलाई नमूना बनाउने तयारीमा विद्यालय लागेको विद्यालयका प्रधानाध्यापक बाबुराम ढकालले जानकारी दिए ।
उनले नगरपालिकाकै पुरानो विद्यालयको रुपमा रहेको सो विद्यालयलाइै भौतिक रुपमा मात्र नभएर शैक्षिक गुणस्तरका हिसाबले पनि नमूना विद्यालय बनाउन विद्यालयले गुरूयोजना तयार गरेको बताए । उनले विद्यालयसम्बन्धी पाँच वर्षको गुरुयोजना तयार गरेको जानकारी दिँदै आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको पाँच वर्षे योजनाबारेमा अन्तरक्रिया गरिएको बताए । ‘विद्यालय सबैको साझा हो, यसलाई हरेक हिसाबले उत्कृष्ट बनाउनका लागि हामीले गुरुयोजना बनाएका छौं, त्यसबारेमा छलफल, अन्तरक्रिया गर्दै सुझाव संकलन गरेर अघि बढ्ने हो ।’
सोही विषयमा विद्यालयले आइतबार एक अन्तरक्रियाको आयोजना गरेको छ । विद्यालयका सरोकारवाला तथा नगरपालिका, विद्यालयका सहयोगी, विव्यस पदाधिकारी, पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापकलगायतको सहभागितामा अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा सहभागीहरुले सामुदायिक विद्यालय नमूना बन्नु नगरपालिकाकै गौरबको विषय भएको बताउँदै विद्यालयको लागि आवश्यक सहयोग गर्न आफूहरु तयार भएको बताएका थिए ।
कार्यक्रममा विद्यालयलाई २०७६ सालमै नमूना विद्यालयका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव गरेको बताउँदै प्रअ ढकालले विद्यालयले अहिले भौतिक पूर्वाधार निर्माणका साथै शैक्षिक क्रियाकलाप, अतिरिक्त क्रियाकलाप र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि लागिरहेको उल्लेख गरे ।
विद्यालयमा हाल देशका ६५ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । कूल २५ रोपनी १२ आना क्षेत्रफल रहेको सो विद्यालयमा हाल ६३९ विद्यार्थी अध्ययन गरिरहेका छन्, जसमध्ये छात्रा ३०२ र छात्र ३३७ जना र शिक्षक दरबन्दी २४ जना रहेको छ ।
कार्यक्रममा बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी जोन्छेले विद्यालयलाई नमूना बनाउन शिक्षक, कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने, विद्यालयलाई अपांगमैत्री र विद्यार्थीमैत्री बनाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले नमूना विद्यालय कागजमा नभइ व्यवहारमै हुन जरूरी रहेको उल्लेख गर्दै त्यसका लागि शिक्षक नै नमूना हुन जरूरी रहेको बताए । उनले नगरपालिकामा रहेका विद्यालयहरूमध्ये गौरवको विद्यालय बनाउन समेत शुभकामना व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव खड्काले विद्यालयमा जनप्रतिनीधिहरुले पहल गरेसँगै विद्यार्थीको आर्कषण बढेको जानकारी दिँदै नमूना विद्यालय बनाउनका लागि समुदाय, जनप्रतिनीधि र सरोकारवालाहरुसँग सहकार्य गरिरहेको बताए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गुणराज लुइँटेल र दधिराम गेलालले पनि विद्यालयको योजनाबारे आफ्नो धारणा राखेका थिए ।