- हरिसुन्दर छुकां
भक्तपुुर । भक्तपुरको बोलाछेँ टोलमा जन्मिएका माधव प्रसाद प्रजापति जीवनको केही समय(युवा अवस्थामा) जागिरे भए । उनले १५/१६ वर्ष जागिर खाए । जागिर खाँदै गरेका उनमा क्रमशः जागिरप्रति वितृष्णा बढ्दै गयो ।
‘तलब थोरै थियो, थोरै तलबले केही हुन्न भन्ने लाग्यो, जागिर भनेको घोडा दौडजस्तै लाग्यो दौडधूप बढी, उपलब्धि कम देखेँ, जागिरबाट दिक्क भएँ’ जागिर छोड्नुको कारण सूर्यविनायक चोकैमा रहेको आफ्नो निवासमा भेटेका उनले सुनाए, ‘त्यसपछि मैले आफ्नै व्यवसाय सुरु गरेँ, घरेलु उद्योग गर्नतिर लागेँ ।’
घरेलु उद्योगमा पनि विभिन्न काम छन्, के गर्ने, के गर्दा राम्रो होला? उनले निक्कै सोचे, निक्के गमे । अन्तिममा उनले रोजे, ‘पपेट्स’ बनाउने काम । त्यही पपेट्स बनाउने कामलाई उनले अघि बढाए । सम्बन्धित ठाउँमा दर्ता गरे । लगानी गरे, त्यसैको मार्केटिङ गरे ।
त्यही पपेट्सले प्रजापतिलाई चिनायो । आफ्नै परिचय बनाउन सघायो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंका समवयी उनले पनि केही दशक राजनीति गरे । यही कारण अहिले पनि उनको सम्बन्ध राजनीतिसँग पनि छ, नारायणमान बिजुक्छेंसँग पनि उस्तै छ । तर, उनी राजनीतिमा लागेनन्, जागिरमा लागे, पछि आफ्नै घरेलु उद्योगमा लागेर उद्यमी बन्नतिर लागे ।
घरेलु उद्योगको महत्व, आवश्यकता बुझेका उनले भक्तपुरका घरेलु उद्योगीहरुलाई एक ठाउँमा ल्याउनका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघको स्थापनाका लागि महत्वपूर्ण भुमिका निर्वाह गरे । उनले संघको स्थापनाका लागि संस्थापक अध्यक्षको भूमिका निर्वाह गरे । उनले २०४७ सालमा संघको स्थापना गरेका थिए । उनी २०५१ सालसम्म अध्यक्ष भए, त्यसपछि पनि लामो समयसम्म सल्लाहकार भए । उनको त्यो भूमिकाकै कारण अहिले संघको आफ्नै पहिचान छ, मूल्य छ ।
‘भक्तपुरमा घरेलु उद्योगको विकासका लागि उहाँको योगदान बिर्सन्न सकिन्न, अहिले जुन परिचय छ, त्यसको मुख्य श्रेयको भागिदार उहाँ नै हुनुहुन्छ’, संघका वर्तमान अध्यक्ष प्रेम खर्बुजाले भने, ‘उहाँ घरेलु उद्योगतिर लाग्नका लागि घच्घच्याइ रहनु हुन्छ, केही दिनअघि मात्र संघमै आएर पनि उहाँले हामीलाई मार्गनिर्देश गरी जानु भयो, पढ्नका लागि प्रेरणा दिनुभयो, उहाँ आफैंले एक पत्रिका स्पोन्सर गरी जानुभयो ।’
जागिरदेखि दिक्क भएका उनले आफ्नै जीवनसंगिनी सरस्वतीको नामबाट ‘सरस्वती पुतली उद्योग’ स्थापना गरे । त्यो उद्योगको नेतृत्व उनै सरस्वतीले गरिन् । त्यही सरस्वतीले उनलाई नाम दियो, दाम दियो ।
‘सरस्वतीसँग अचम्मको शक्ति थियो, जोकोहीलाई पनि पहिलो भेटमै प्रभावित बनाउन सक्ने क्षमता थियो, घरेलु उद्योग स्थापना हुनु र संघ बन्नुमा उनको योगदान बिर्सन सकिन्न’, उनले सम्झे, ‘उनले मलाई मात्र हैन, संघलाई पनि साथ दिइन्, अहिले सरस्वती बितेको पनि दुई वर्ष भयो, तर उनको योगदानको कदरस्वपरुप घरेलु संघले आफ्नो भवनमा सरस्वती सदन बनाएको छ ।’
जीवनलाई घरेलु उद्योगको सम्वद्र्धन र प्रवद्र्धनका लागि समर्पित गरेका प्रजापति जीवनको साढे आठ दशकमा हिँडिरहँदा पनि घरेलु उद्योगकै आवश्यकता देखाइ रहेका छन् । उनले घरेलु उद्योग किन चाहिन्छ भनेर एउटा पर्चा नै बनाएका छन् ।
अध्ययनमा पनि रुचि भएका उनले लेखक एवं व्यवसायी कर्ण शाक्यको एउटा पुस्तकबाट शब्दहरु सापती लिएर घरेलु उद्योगको किन चाहिन्छ, यो उद्योगका लागि सरकारले मात्र हैन, स्वयम् व्यक्तिले पनि के गर्नुपर्छ? भनेर स्वतस्फूर्त तवरमा प्रचार गरिरहेका छन् । प्रजापति अहिले सोही घरेलु उद्योगको विकास मन्त्रको ‘प्रचारक’ बाँडिरहेका छन् ।
उनले पर्चा बनाएका छन् । पर्चामा उद्योग किन चाहिन्छ?, उद्योग भएपछि के हुन्छ? उद्योगमा ककसलाई कसरी स्थान दिनुपर्छ?, उद्योगमा कस्ता जनशक्ति आउनुपर्छ? कसरी बेरोजगारी समस्या समाधान गर्न सकिन्छ? गरिबी कसरी हटाउँछ? भन्ने विषय समेटेका छन् ।
लेखक कर्ण शाक्यको पुस्तकबाट प्रभावित उनले त्यत्तिक्कै प्रचार गरेका हैनन्, ती पुस्तकका अंशमा उनले आफूले गरेको संघर्षको भाव देखेका छन् । उनले आफ्नो मनको कुरा शाक्यको पुस्तकमा भेटेका छन्, यही भएर उनले ती कुराको प्रचार गरेका हुन् । ‘किताबको ती कुराहरु निक्के घटलाग्दा छन्, किताबमा भनेजस्तै गर्न सकियो भने देश विकासमा टेवा पुग्छ, सहयोग हुन्छ, हुनुपर्ने पनि यही हो’, उनले प्रचार गर्नुको अर्को कारण सुनाए ।
उनले त्यो पर्चा विभिन्न व्यक्तिहरुलाई दिने र ठाउँठाउँका चोक र पसलहरुमा वितरण गर्ने गरेका छन् । उनको सो अभियानबाट आफू पनि प्रभावित भएर भक्तपुरको सूर्यविनायक चोकस्थित लक्ष्मी मिठाइ भण्डारका बैकुण्ठ मानन्धरले पर्चा पसलमै टाँसेका छन् ।