भक्तपुर, १३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय निर्वाचनमा निर्वाचित भई सपथ ग्रहण गरेकै मितिदेखि नगर र नगरबासीहरुको हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको बताएका छन् ।
भक्तपुर नपा वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा र शारीरिक व्यायाम सामाग्री उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । सो क्रममा उनले भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न निरन्तर क्रियाशील रहेको बताउँदै भक्तपुर नपाबाट भएका विकास निर्माण र सुशासनबारे सिक्न देशका ६० वटा भन्दा बढी स्थानीय तहका जनप्रतिनिधिहरुसँग अनुभव आदानप्रदान भइसकेको समेत चर्चा गरे ।
भक्तपुरको मौलिकता जगेर्ना गर्ने उद्देश्यले भक्तपुर नपाले यहाँका मूर्त र अमूर्त सम्पदा पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको उल्लेख गर्दै उनले नगरबासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्याको बनाउने तयारीमा जुटिरहेको बताए।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेमकिपाको मार्गनिर्देशनअनुसार घोषणापत्र अक्षरशः पालना गर्दै वडाका गतिविधि सञ्चालन गर्दैै आइरहेको बताए ।
पूर्व वडाध्यक्ष रामहरि गोराले भक्तपुरका सम्पदाहरु उपभोक्ता समितिबाट सफलतापूर्वक सम्पन्न गरिरहेको बताए ।
कार्यक्रममा तेखापुखु पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखोले पाटी पुनःनिर्माणमा खटेका सबैमा धन्यवाद दिए भने समितिका कोषाध्यक्ष मणिरत्न शिल्पकारले पाटीको आय व्यय प्रस्तुत गर्दै उक्त पाटी रु. २१ लाख ९९ हजार ३१४ मा निर्माण सम्पन्न भएको बताए।