भक्तपुर, २९ माघ। भक्तपुर कप फुटबल प्रतियोगिता फागुन ६ गतबाट हुने भएको छ । यसअघि माघ १४ गतेदेखि हुने भनिएको फुटबल प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । आयोजक भक्तपुर युवा टिम गोल्मढीले सो समयमा स्थगित प्रतियोगिता फागुन ६ गतेबाट गर्ने जनाएको छ।
आयोजक टिमका सदस्य सुजन किसीले कोरोना महामारीको दर सामान्य भएसँंगै फागुन ६ गतेबाट प्रतियोगिता गर्न लागेको जानकारी दिँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।
भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुने प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारका साथै ट्रफी, मेडल र शिल्डको व्यवस्था गरिएको छ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख १५ हजार रुपैयाँ र दोश्रो हुने टिमलाई नगद रु. ५५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको प्रतियोगिता संयोजक सञ्जीव कवांले बताए। प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेष्ट अवार्ड दिने योजना रहेको उनले जनाए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट पनि प्रतिनिधित्व हुने निश्चित भएको जनाइएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुरसहित काभ्रेपलान्चोक गरी कुल १६ वटा टिमहरुले सहभागिता जनाउने आयोजकको भनाइ छ।
मित्रता अनुशाशन र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको थियो ।