भक्तपुर, २७ माघ। भक्तपुरको चाँगुनारायण अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ। चाँगुनारायण नगरपालिकाको व्यवस्थापनमा सञ्चालनमा वडा नं ४ को हुचीढुंगामा सञ्चालनमा आएको अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको हो।
अस्पताल सञ्चालनमा आएको लामो समयपछि अक्सिजन प्लान्ट जडान भएको हो। त्यसको सफल परीक्षण सकिएको नगरपालिकाले जनाएको छ।
यसअघि नै नगरपालिकाले चाँगुनारायण फाउण्डेशनको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बनाए पनि विभिन्न प्राविधिक कारणले पछि धकेलिएको थियो। अहिले नगरपालिकामा बिजुलीको थ्रीफेज लाइनसहित ३ सय केभी क्षमताको ट्रान्सफर्मर जडान भइसकेको छ।
‘अहिले प्लान्ट सञ्चालन गर्नका लागि सबै प्राविधिक झन्झट सकिसकेको छ, हामीले यसको सफल परीक्षण पनि गरेका छौं,’ नगरप्रमुख सोमप्रसाद मिश्रले भने। २०७७ साल मंसिरमा उद्घाटन भई पुस १५ गतेबाट सञ्चालनमा आएको सो अस्पतालले १ करोड ५७ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाएको थियो।
सोही योजना अन्तर्गत नगरपालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको थियो। प्लान्टका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम ब्यहोर्ने समझदारी भएको थियो।
फाउण्डेसनका अध्यक्ष मणिरज खत्रीले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थासँग समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढाइएको बताउँदै लामो समयको होमवर्कपछि प्लान्ट जडान गर्ने काम अन्तिम चरणमा पुर्याएको बताए।