भक्तपुर, २२ माघ। प्रहरीले एक सहकारीको लेखा समिति संयोजकलाई पक्राउ गरेको छ। प्रहरीले साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका लेखासमिति संयोजक पंचमान महर्जनलाई पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने ४८ वर्षीय महर्जनलाई ठगी मुद्दा कसुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मुद्दामा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो।
उक्त संस्थामा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन वाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा पंचमान समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै उनीउपर अदालतले उक्त फैसला गरेको थियो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।