BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
भक्तपुर विचार शिक्षा समाज

शिक्षामा कोभिडको असर: ‘यसपाली त मन फाट्यो के ले टाल्ने, के ले. . .?’

 

  • डा. राजेन्द्र कोजू

कोभिड १९ एउटा अप्रत्यासित आपत वा संकट बन्यो यो संसारका लागि । यसले विश्वभरी आतङ्क र भयावह स्थिति सिर्जना गर्यो । नेपालको सन्दर्भमा कुरा गर्दा २०७२ सालको महाभूकम्पले दिएको पीडा र घाउ बिर्सन नपाउँदै कोभिडले थप बज्रपात गरेको अवस्था हो । भूकम्प र कोभिड महामारीले नेपाली जनताको मानपसपटलमा गहिरो छाप र घाउ दिएर गएको छ । त्यसमाथि कोभिडले त झन क्रमिक रुपमा हरेक वर्ष घाउमा नुन चुक छर्ने काम गरिरहेकै छ । यसले मानसिक स्वास्थ्यमा प्रभाव त परेको छ नै, सिंगो राष्ट्रको अर्थतन्त्रमाथि नै खतरनाक आक्रमण गरेको छ। यसले विकास र समृद्धिको लहरलाई समेत अवरोध खडा गरेको छ । सामाजिक जीवनमा अशान्ति ल्याएको छ र सबै मानिसको सामान्य जीवन खल्बल्याएको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा र यसको कार्यन्वयनमा समेत चुनौती खडा गरेकोे छ । भूकम्पले ध्वस्त पारेको देशभरका विद्यालयका भवनहरु त उठेका छन् तर कोभिडले खस्केको शिक्षाको गुणस्तर कसरी उठ्ने हो ? यो सोचनीय विषय हो।

यो अवको गम्भीर चुनौती हो । क्रमागत रुपमा हरेक वर्ष दोहरिँदै आइरहेको कोभिडको लहरले शिक्षाको स्तर डामाडोल भइसकेको छ । कोभिड त समस्या थियो नै तर यसको निराकरणका लागि, यसले पार्ने प्रभावबाट बच्नका लागि अर्थात यसको समाधानका लागि गरिएको सरकारका निर्णयहरु समेत घातक बन्दै गइरहेको सर्वत्र महशुस गर्न थालिएको छ । कोभिडबाट बच्ने अचुक अश्त्र नै ‘भाग्ने, लुक्ने र बन्द गर्ने’ मात्र हो भन्ने गलत बुझाईका कारण आज सिंगो अर्थतन्त्र र शिक्षा क्षेत्र ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको हो ।

  • उत्पादनशीलता, सिर्जनशिलता र कल्पनाशीलता सबै नष्ट भएको छ। एकतर्फ राजनीति र प्रशासन भ्रष्ट भएकै छ । अर्को क्षेत्र आशलाग्दो भविष्य बोकेको शिक्षा पनि कोभिडको सन्नाटा र अनावश्यक झमेलाका कारण संकटग्रस्ट बनेको स्थिति विद्यमान छ ।

    शिक्षामा स्वेदेशी, आत्मनिर्भर लगानी र निजी क्षेत्रको लगानी छ । करिव ३ लाख वौद्धिक वर्गलाई रोजगारी दिइरहेको तथ्याङ्क छ । नेपालको करिव २५ प्रतिशत विद्यार्थीहरु निजी विद्यालयमा पढ्छन् । यस्तो महत्वपूर्ण क्षेत्र आर्थिक संकटका कारण प्राणहीन अवस्थामा गुज्रनु पर्ने बाध्यतामा पुगेको छ । यतातर्फ सरकारको कुनै चासो र चिन्ता देखिँदैन । पहिलो वर्ष ९ महिना विद्यालय बन्द हुँदाको आर्थिक प्रभाव र असरलाई सम्हाल्न नपाउँदै दोस्रो लहर र दोस्रो लहरको संकट मोचन नहुँदै तेस्रो लहरको चपेटामा पर्दा शिक्षा क्षेत्रमा गरिएको लगानी र लगानीकर्ता भयङ्कर संकटमा फसेको स्थिति छ । अरुणा लामाको गीत ‘पोहोर साल खुसी फाट्यो, जतन गरी मनले टालेँ, यसपाली त मन फाट्यो के ले टाल्ने, के ले सिउने हो?’ भन्ने गीतको भाव र भावार्थ झल्किने गरी निजी विद्यालय संचालकहरु पुर्पुरोमा हात राख्दै रोइरहेका छन् । सायद यो अवस्था सरकारका लागि तत्काल सम्बोधन योग्य ठान्न आवश्यक नहोला । तर, देशको लागि, समाजको लागि, भविष्यको लागि यो पक्कै पनि निर्मम हुनेछ । देशको युवा वर्ग, शिक्षित वर्ग, रोजगारदाता उद्यमी र व्यवसायी निराश हुँदा सिंगो देशको लागि फलदायी नहुने निश्चित छ। यतातर्फ सबैको ध्यान जानु जरुरी छ ।

विद्यालय र कलेज : वेरोजगार उत्पादन गर्ने कारखाना

२०७६ सालमा कोभिडको लहरसंगै नर्सरीमा भर्ना भएका नानीहरु आजका दिन यू.के.जी मा, कक्षा ८ पढेका कक्षा १० पुगेर एसईई र सोही वर्ष एसईई उत्तीर्ण गरेका विद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्दैछन् । आन्तरिक मूल्याङ्कनको नाममा, परिस्थितिको अनुकुल व्याख्या गर्दै धमाधम देशभरका लाखौं विद्यार्थीहरुलाई एसईई र कक्षा १२ का विद्यार्थीहरुलाई उत्तीर्ण भएको प्रमाण पत्र भिडाइसकेको अवस्था छ । क्षमता, सीप, र योग्यता विनाको प्रमाणपत्र कागजको खोस्टा हुने शंकाको सुविधा सबैलाई रहनेछ । नेपालको शिक्षा क्षेत्र वेरोजगार उत्पादन गर्ने कारखाना सावित हुने अवस्था बन्दैछ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ । सरकार यसतर्फ गम्भीर हुन जरुरी छ । भोलिका दिनमा जस अपजसको भागिदारमा बन्नबाट भाग्न मिल्दैन । अब, यही पारा र यही अवस्था कायम रहने हो भने भविष्यको लामो समय प्रताडित हुनुपर्ने र अपाङ्ग हुनुपर्ने अवस्था अवश्यंभावी छ । तसर्थ यतातर्फ सरकारको र शिक्षा सरोकारवालाको गम्भीर ध्यानाकर्षण जरुरी छ ।

एउटा पिंढी नै अपाङ्ग

आजको शिक्षाको प्रभाव अवको १० देखि १५ वर्ष पछाडि पर्ने गर्दछ । आज विद्यालयमा पढ्दै गरेका स–साना नानीहरु अवको १०– १५ वर्षमा देशको विभिन्न क्षेत्रमा खासगरी व्यापार, प्रशासन, नीति निमोण तहमा, उत्पादन क्षेत्रमा, योजनाको तहमा र निर्णय गर्ने तहमा पुग्ने छन् । तर आज आर्जन गरेको ज्ञानको प्रयोग त्यतिबेला गर्ने अवस्थामा पुग्छन् । तर आजको शिक्षा अपाङ्ग भयो, अपुगो भयो वा नराम्रो भयो भने पक्कै पनि त्यो पिंढी सही परिणाम पाउने छैनन् । यसकारण आजले भोलि निर्देशित गर्ने भएकोले आजको यो दूरावस्था नै भोलिको दूरावस्थाका लागि जिम्मेदार हुने छन्। त्यसैले हामी चिन्तिन हुन र शिक्षा क्षेत्रमा देखिएको यो डरलाग्दो निराशा तत्काल समाधान हुन जरुरी छ । शिक्षा क्षेत्र सबैको आशा, आस्था र विश्वासको केन्द्र हो । यही क्षेत्र आज धाराशायी बन्ने अवस्थामा पुगेको छ । सधै बन्दको मारमा परेको छ । उत्पादनशीलता, सिर्जनशिलता र कल्पनाशीलता सबै नष्ट भएको छ। एकतर्फ राजनीति र प्रशासन भ्रष्ट भएकै छ । अर्को क्षेत्र आशलाग्दो भविष्य बोकेको शिक्षा पनि कोभिडको सन्नाटा र अनावश्यक झमेलाका कारण संकटग्रस्ट बनेको स्थिति विद्यमान छ । यसले भविष्यको एक पिंढी बिग्रने सम्भावना प्रवल बनाएको छ ।

यो यथार्थलाई सरकारले ध्यान दिनै पर्छ। नत्र, कोभिड महामारीलाई निरुपण गर्ने नाममा लाडिएको लकडाउन, स्मार्ट लकडाउन, सर्ट लकडाउन, नाममात्रको लकडाउनको सिकारमा नयाँ पुस्ता पर्दैछन्, जसको असर देशलाई पर्छ। महामारीको पहिलो सिकारमा विद्यालयलाई पार्दै आएको छ, यसका गम्भीर समीक्षा गर्नैपर्छ।

  • डा.कोजू, भक्तपुरको रोम्बस नेशनल स्कुल र कलेजका प्राचार्य हुन्। उनी समसामयिक विषयमा लेख्न रुचाउँछन्। साहित्यका समेत विशेष रुचि भएका उनी शिक्षाकर्मीका साथै मानवअधिकारकर्मीसमेत हुन्।

थप ख़बर

वकिलहरुले गरे ‘खनखन नोट गनेर’ उम्मेद्वारी दर्ता

भक्तपुर टाइम्स

भक्तपुरमा बिहीबार ५४३ जनामा कोरोना संक्रमण

भक्तपुर टाइम्स

ताथलीमा चुनावी अभियान : जनताको माझमा राप्रपा

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy