भक्तपुर, १७ माघ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीको बाँसबारी बाल्मिकेश्वर सडक कालोपत्र हुन ढिलाइ भएको छ। सडक स्तरोन्नतिमा ढिलाइ हुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ।
२०७७ सालमा सम्झौता भई २०७८ को माघ महिनाभित्र सबै काम सम्पन्न हुनुपर्ने गरी सम्झौता भए पनि ठेकेदार कम्पनीले काममा आलटाला गरिरहेपछि स्थानीय ग्रामीण सडक संजाल सुधार आयोजना (आरसीआइपी)को कार्यालय ,बल्खु पुगेका छन्।
उनीहरुले बागेश्वरीको महत्वपूर्ण सडकको रुपमा रहेको उक्त सडकको स्तरोन्नतिको काम समयमै सम्पन्न गर्न माग गरेका छन्। विगत केही समयदेखि सो सडकमा काम नभएपछि काम सूचारु गर्नका लाग दबाब दिन स्थानीय सोमबार उक्त कार्यलयमा पुगेका थिए।
उनीहरुले सो कार्यालयका कर्मचारीसँग छलफल गरी सडक समयमै सम्पन्न गर्न अनुरोध गरेका छन्। छलफलपछि केही दिनमै काम सुचारू हुने आश्वाशन दिएको दबाबका लागि पुगेका बाबुकाजी श्रेष्ठले बताए। उनले कार्यालयले काममाढिलाइ गरे स्थानीय बासिन्दाहरु आन्दोलनमा उत्रने समेत बताए।