भक्तपुर, १३ माघ। बागमती प्रदेशका मुख्यमन्त्रधी राजेन्द्र पाण्डेले ख्वप अस्पताललाई १०० बेडको स्वीकृति प्रदान गर्न स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी सम्मिलित टोलीले मुख्यमन्त्री पाण्डेसँगको भेटपछि पाण्डेले सो निर्देशन दिएका हुन्।
भेटमा मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा पुनःनिर्माणमा गरिरहेको प्रगति र कार्यहरुबारे अवगत रहेको र नपाका गतिविधिहरु जनतालक्षित भएको बताउँदै स्थानीय तहबाट सञ्चालित ख्वप अस्पतालबाट व्यापक जनताको हित हुने विश्वास व्यक्त गरे।
सो क्रममा मुख्यमन्त्री पाण्डेले ख्वप अस्पताललाई १०० बेडको स्वीकृति प्रदान र आवश्यक सहयोग गर्न सकारात्मक रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्रीलगायत सम्बन्धितलाई निर्देशन दिने बताए।
भेटमा भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको स्तरोन्नति र १०० शैय्या क्षमताको अस्पताल सञ्चालन स्वीकृतिको लागि आग्रह गर्दै ख्वप अस्पताललाई स्थानीय तहबाट सञ्चालित देशकै नमुना अस्पतालको रुपमा सञ्चालन गरी जनतको सेवा गर्ने बताए।