भक्तपुर, ११ माघ। कोरोना भाइरस सङ्क्रमणको तेश्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।
अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको लागि पाँच वटा भवन लगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले जानकारी दिए।
यसअघि पनि नगरपालिकाले नगर अस्पताल छिट्टै सञ्चालनमा आउने दाबी गरेको थियो।
अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण लगायतका पूर्वाधार निर्माण सम्पन्न गरेको उनको भनाइ छ।
नगरपालिकाले अस्पताल सञ्चालनसँगै विरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यबस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाश प्राप्त गरेका विशेषज्ञ डा. साग राजभण्डारीलाई अस्पतालको निर्देशकको रुपमा नियुक्ती दिएर अस्पतालमा काम सुरु गरेको उनले बताए।
अस्पतालको प्रशासनीक भवन, आकस्मिक कक्ष, आईसियू तथा भेन्टिलेटर कक्ष, एचडियू, ओपिडि, जनरल वार्ड लगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाण्ड भित्र कालोपत्र गर्ने तयारी भइरहेको अस्पताल निर्माण समितिका संयोजक, नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए।
अस्पतालमा २४ सै घण्टा सेवा दिने सञ्चालन गर्ने र अरनिको राजमार्गसँगै जोडिएको हुँनाले सूर्यविनायक नगरवासीका साथै भक्तपुर जिल्ला र काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत पूर्वबाट आउने विरामी तथा सडक दुर्घटनामा परेकाहरुको समेत छिटो र सहज एवं सूलभ उपचार गर्ने गरि अस्पताल सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ।
सांसद महेश बस्नेतको सांसद विकास कोष, केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरि करिब रु. ८ करोडको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो।