BHAKTAPUR TIMES -Bhaktapur’s Leading News Portal
विचार समाज

आत्महत्याको समाजशास्त्र

सुरेश बखुन्छे

थालनी
कोही कसैले कसैमाथि विभिन्न हातहतियारको प्रयोग गरी वा अन्य तरिकाबाट कसैलाई मार्ने कामलाई हत्या भनिन्छ । कुनै पशुदेखि लिएर मान्छेसम्मलाई मार्नु आफै हत्या हो । तर मान्छेबाहेक अन्य पशुलाई बध गर्ने वा बली दिने भन्ने नाममा मार्ने गरिएको हामी पाउँदछौँ । यहाँ उठाउन खोजिएको विषय पशुपन्छी भन्दा पनि मानिसको हो अतः विभिन्न देशमा दिइने मृत्युदण्ड आफै पनि हत्याकै स्वरुप हो भन्न सकिन्छ । यदि कोही व्यक्ति विशेषले राज्यको नियमभन्दा अलग तरिकाले कसैको हत्या गरिन्छ भने त्यो अपराध कहलिन्छ र दण्डनीय हुन्छ भने कानुन उलंघन गरेको खण्डमा राज्यले नै कसैको हत्या गर्दछ भने त्यसलाई दण्ड वा सजायका रुपमा परिभाषित गरिएको पाइन्छ ।

कुनै व्यक्तिको समाजमा एकदम धेरै एकता भएमा परोपकारवादी आत्महत्या रोज्छन् भने एकदम न्यून एकता भएमा अहमवादी आत्महत्या रोज्न पुग्दछन् । त्यस्तै एकदम भेरै नियमन भएमा भाग्यवादी र एकदम न्यून नियमन भएमा मान्यताविहिन आत्महत्या गर्ने गर्दछ ।

अपराध होस् वा दण्ड नै किन नहोस् मानव समाजको विकासक्रसँगै विकसित भएको मान्यता हो । उदाहरणका लागि मानव समाजको प्राचीन युगलाई हेर्ने हो भने त्यहाँ मान्छेले मान्छेलाई मार्ने र मान्छेकै मासु खाने गरेको इतिहास छ भने दास समाजमा त दास मालिकलाई दास काट्न पाउने छुट रहेको थियो । पछिल्लो समयमा विकसित भएको मानव समाजको चरण अनुरुप मान्छेलाई मार्न नपाइने भनी व्याख्या गरिनुका साथै यदि आवश्यक भएको खण्डमा राज्यबाट मारिन सकिने नीति नियम बनाइनुका आधारबाट यो स्पष्ट हुन्छ कि हत्या, अपराध तथा दण्ड–सजाय आफै मानव समाजको विकासक्रसँगै विकसित मान्यता वा कार्य हो । स्मरण रहोस् मान्छेले अपराध समाजमै गर्छ भने दण्ड समाज व्यवस्थालाई सुचारु गर्न दिइने गर्दछ ।
मानव समाजको विकासक्रमकै कुरा गर्ने हो भने पछिल्लो समयमा आत्महत्या पनि तीब्रत्तर रुपमा अगाडि आएको देखिन्छ । कानुनतः यस्तो कार्यलाई अपराध नै भनिएको भएता पनि यस्तो कार्य गर्ने स्वयम् मरिसकेको हुने हुँदा यस किमिको अपराध गर्नेलाई सजाय दिन सकिँदैन । सामाजिक प्रतिष्ठा, इज्जत, मानसम्मान आदिमा आँच आउने देखेर यदि कसैले आत्महत्या गरेको छ र यदि ऊ ठुलो अपराधी रहेको पुष्टि भएको खण्डमा त्यसे व्यक्तिको कंकाललाई समेत पुनः फाँसी दिएको घटना पनि नभएका होइनन् । तर यस्तो नगन्य मात्र देखिन्छ । यी कुराहरू भनिरहँदा अपराध र दण्डलाई एकै सिक्काका दुई पाटाका रुपमा परिभाषित गर्न सकिन्छ । मृत्यु होस् वा हत्या होस् वा चाहे आत्महत्या नै किन नहोस् त्यसको प्रत्यक्ष वा परोक्ष सम्बन्ध मानव समाजसँग जोडिएको हुन्छ र छ पनि ।

हत्या तथा आत्महत्याको कारक समाज
अगाडि नै भनिसकियो कि हत्या वा आत्महत्या मान्छेले मानव समाजभित्रै गरिने कार्य हो । आफ्नो रिस, आवेग, बदला वा स्वार्थ पूरा गर्न र गरिसकेपछि मान्छेले हत्या गर्ने गरेको देखिन्छ । यो भनिरहँदा हत्या नितान्त व्यक्तिगत जस्तो लाग्न सक्छ तर यथार्थतः व्यक्तिलाई रिस उठ्ने, व्यक्ति आवेगमा आउने, व्यक्तिले बदला लिने वा स्वार्थ पूरा गर्ने जस्ता कार्यको पछाडि सामजिक मूल्य–मान्यता, चालचलन वा अन्य पक्षले भूमिका खेलिरहेको हुन्छ । आदिम कालमा मान्छे गर्ने मान्छेलाई गर्ने हत्या भनेको प्राकृतिक स्रोत र साधनका लागि गरिएको देखिन्छ भने वर्तमान समाजमा मान्छे निर्मित विभिन्न वस्तु तथा पैसाका लागि गर्ने गरेको देखिन्छ । यसर्थ हत्याको कारण स्वयम् मानव समाज र उत्पादन सम्बन्धमा आएको फेरबदल तथा त्यससँग सम्बन्धित अन्य दृश्य वा अदृश्य तत्व नै हो । जुन मानव समाजले नै निर्माण गरेका हुन् ।

आत्महत्या अर्थात आफूले आपैलाई मार्ने कार्य । मान्छेले किन आफ्नै हत्या गर्छन् ? भन्ने सन्दर्भमा समाजशास्त्री इमाइल दुर्खिमले आफ्नो विचार स्पष्ट रुपमा राखेका छन् । उनका अनुसार सामाजिक सङ्गति तथा असङ्गतिका कारण मान्छेले आत्महत्या गर्छन् । आत्महत्या समाजमा हुने नियमित प्रकृया हो, जुन सामाजिक एकताको स्तर र प्रकारका आधारमा थपघट हुने गर्दछ । उनले अगाडि सारेका आत्महत्याको प्रकारमा (१) परोपकारवादी आत्महत्या, (२) अहमवादी आत्महत्या, (३) भाग्यवादी आत्महत्या र (४) मान्यताविहिन आत्महत्या । उनका अनुसार आत्महत्याको सम्बन्ध प्रत्यक्ष रुपमा व्यक्ति र समाजको एकता र नियमनसँग सम्बन्धित छ । कुनै व्यक्तिको समाजमा एकदम धेरै एकता भएमा परोपकारवादी आत्महत्या रोज्छन् भने एकदम न्यून एकता भएमा अहमवादी आत्महत्या रोज्न पुग्दछन् । त्यस्तै एकदम भेरै नियमन भएमा भाग्यवादी र एकदम न्यून नियमन भएमा मान्यताविहिन आत्महत्या गर्ने गर्दछ ।

दुर्खिमले अगाडि सारेको आत्महत्याहरूमध्ये चौथो किसिमको आत्महत्या वर्तमान सामाजिक संरचनाका कारण उत्पन्न भएको हो । आफू समाज अनुकुल बन्न नसक्दा समाजप्रति वितृष्णा पैदा हुन्छ र मान्छेले मान्यताविहिन आत्महत्या रोज्न पुग्दछ । दुर्खिमका शब्दमा भन्नुपर्दा व्यक्तिले आफू अनुकुल समाज नपाउँदा वा समाज अनुकुल आफूलाई ढाल्न नसक्दा मान्छेहरू समाजप्रति “एनोमी” अर्थात समाजप्रति वितृष्णा पैदा हुन्छ र आत्महत्या गर्छन् । यस्तो किसिमको आत्महत्या औद्योगिक क्रान्तिपछि विकसित पुँजीवादी समाजमा बढी भएको उनको तर्क रहेको छ । अर्थात्, पुँजीवादी समाजको विकासक्रमसँगै आत्महत्या दर बढेको स्पष्ट हुन्छ ।

आत्महत्या र नेपाल
आत्महत्याको दर देश अनुसार फरक भएको भएता पनि सायद त्यस्तो देश छैन, जहाँ आत्महत्या नभएको होस् । यही पर्यप्रेक्ष्यमा नेपाल पनि अछुतो रहन सक्दैन । तर पहिले आत्महत्याका कुरा कमै मात्र सुनिने गरिएकोमा हाल दिनानुदिन जस्तै सुनिने र घट्ने घटनाका रुपमा आत्महत्या देखापर्न थालेको छ । यस्तो हुनुको प्रमुख कारण बदलिँदो नेपाली समाज नै हो भन्न सकिन्छ । वर्तमान नेपाली समाज प्रत्यक्ष वा परोक्ष रुपमा पुँजीवादमा प्रवेश गरिसकेको छ । पुँजीवादी समाज भनेकै लोभ, लालच, चोरी, हत्या, भ्रष्टाचार तथा अन्य आपराधिक गतिविधिले प्रश्रय पाउने समाज हो । साथसाथै यही समाजमा सामुदायिक भन्दा पनि व्यक्तिवादी चरित्रको विकास गर्छ । उमेरमै एक्लोपनाको अनुभव गर्ने, समाजमा कम मात्रै घुलमिल हुने आदि कारण आपूmलाई समाज अनुकुल वा समाजलाई आफू अनुकुल ढाल्न नसक्दा दिनानुदिन आत्महत्या बढ्दै गएको स्पष्ट हुन्छ ।

हिजोआज बालबालिकाले आत्महत्या गर्ने दर पनि विस्तारै बढ्दै गएको तथ्यहरू सार्वजनिक हुँदै आएको छ । हिजोआजका बालबालिकाहरू मोबाइल वा कम्पयुटरमा बढी समय बिताउने, विद्यालयमै धेरै समय बिताउनु पर्ने जस्ता कार्यले समाजबाट बिस्तारै अलग हुँदै गएको यथार्थ कमैले मात्र बुझेका छन् । यही कारण पनि बालबालिकाले आत्महत्या गर्ने गरेको हो । पहिलेजस्तो केटाकेही सामाजिकीकरण प्रकृयाबाट टाढा हुँदै गएको छ । आमाबुबा आफ्नै काममा लाग्नुपर्ने बाध्यता, हजरबा, हजुरआमाहरू बृद्धाश्रममा राख्ने परिपाटी तथा अन्य यावत कारणले बालबालिका एक्लोपनाको सिकार हुँदै गएको र अन्तमा आत्महत्या गर्ने गरेको स्पष्ट हुन्छ ।

बयस्कका हकमा भन्ने हो भन्ने आफ्नो इच्छा हाकांक्षा पूरा नभएको कारण आत्महत्या रोज्ने गरेको देखिन्छ । यसका साथै गरिबी वा अन्य बाध्यात्मक कारणले पनि आत्महत्या गर्ने गरेको देखिन्छ । यो सब मानव समाज जटिल बन्दै जाँदा विकसित पुँजीवादी संस्कृतिकै कारण हो ।

अन्तमा
मानिसबाहेक अन्य कुनै पनि प्राणी वा बनस्पतिले आत्महत्या गरेको समाचार न हामीले सुनेका छौँ न त गर्ने गरेको तथ्य वा इतिहास नै छ । यो सन्दर्भमा भन्नुपर्दा मानव विकासको सुरुका चरणतिर आत्महत्या गर्ने गरेको पाइँदैन किनकि त्यसबेलाको मानव समाज भनेको प्रकृतिमा निर्भर थियो । विस्तारै मानव सभ्य र सुसंस्कृत बन्ने क्रममा मान्छेले विकास गरेका प्रविधि, नीति नियम, मूल्य मान्यता आदि नै आत्महत्याको कारक तत्व हो । अझ त्यो भन्दा पनि प्रमुख कुरा भनेको वर्तमान पुँजीवादी समाज र त्योसँगै विकसित विभिन्न असमानता, मूल्य मान्यता, प्रविधि आदि नै आत्महत्याको जड हो भन्दा फरक पर्दैन ।
जसरी आदिम साम्यवादी युगमा आत्महत्या थिएन त्यसरी नै पुँजीवादी समाजपछि आउने समाजवादमा मात्र यस्तो समस्या समाधान हुने कुरामा विश्वस्त हुन सकिन्छ । यसर्थ मानव समाजको हितको लागि यथासक्य छिटो पुँजीवादको पतन आवश्यक छ ।

बखुन्छे समाजशास्त्रका अध्येता हुन्।

थप ख़बर

छालिङको सुनसान गेष्ट हाउसका सञ्चालकसहित दुई पक्राउ : महिलामाथि बलात्कार भएको आशंका

भक्तपुर टाइम्स

भक्तपुरमा चुनाव खर्च विवरण कसले बुझाए? कसले बुझाएनन् ? नामावली

भक्तपुर टाइम्स

भक्तपुरमा मृत अवस्थामा भेटिए प्रहरी निरीक्षक

भक्तपुर टाइम्स

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy