हरिसुन्दर छुकां/ भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सानो नगरमध्ये एक हो तर सांस्कृतिक सम्पदाको दृष्टिले भने यो नेपालकै एक महत्वपूर्ण नगर हो । मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा भक्तपुर नगरपालिकाले अग्रणी भूमिका खेल्दै आएको छ । सांस्कृतिक नगरको उपमा पाएको भक्तपुरलाई कतिपय संस्कृतिविद्हरू र विद्वान्हरूले ‘नाचगानको राजधानी’ को रूपमा परिभाषित गरेका छन्।
१२ औ“देखि १५ औ“ शताब्दीसम्म नेपाल मण्डलको राजधानी शहरको रूपमा रहेको भक्तपुरमा मल्लकालीन समयमा थुप्रै महत्वपूर्ण सम्पदाहरूको निर्माण भएको देखिन्छ। ङातापोल्हँ मन्दिर, भैरवनाथको मन्दिर, ५५ झ्याल दरबार, लुँढोका, वत्सला मन्दिरलगायत भक्तपुर दरबार क्षेत्रमा अवस्थित थुप्रै सम्पदाहरू मल्लकालीन काष्ठकला, धातुकला र प्रस्तरकलाका अनुपम एवं बेजोड कलाकारिताका नमुनाहरू हुन् ।
नगरका सबै सम्पदाहरुलाई देशको सम्पत्तिको रुपमा ग्रहण गर्नु अनि ती सबैको संरक्षण गर्नुलाई आफ्नो कर्तव्य ठान्नु मात्र हैन, यही भावनालाई जनमानसको धड्कनमा धड्काउन सक्नु ख्वपः मोडेल हो।
वत्सला मन्दिर नेपाल संवत् ७९८ मा राजा जितामित्र मल्लको पालामा बनेको इतिहास छ । उक्त मन्दिर २०७२ सालमा गएको विनासकारी भूकम्पबाट पूर्ण रूपमा क्षति ग्रस्त भयो । त्यसको अलावा भक्तपुरका १२० भन्दा बढी सम्पदाहरू उक्त भूकम्पबाट आंशिक र पूर्ण क्षति भयो । हालसम्म भक्तपुर नगरपालिकाले ११८ वटा सम्पदाहरु पुनः निर्माण र जिर्णोद्घार सम्पन्न गरी सकेको छ भने अझ कैयौं सम्पदाहरु निर्माणाधीन छन्। नगरका सबै सम्पदाहरुलाई देशको सम्पत्तिको रुपमा ग्रहण गर्नु अनि ती सबैको संरक्षण गर्नुलाई आफ्नो कर्तव्य ठान्नु मात्र हैन, यही भावनालाई जनमानसको धड्कनमा धड्काउन सक्नु ख्वपः मोडेल हो।
स्थानीय तहमा जनप्रतिनिधि नहुँदा पुनःनिर्माणको लागि निकै ठूलो चुनौति सबैले व्यहोरेका थिए। नीतिगत, प्रशासनिक, आर्थिक झंझटजस्ता व्यावहारिक कठिनाइको प्रतिकूलताबीच पनि स्थानीय जनताको सहभागितामा उपभोक्ता समिति गठन गर्ने काम, पैसामूखी हुँदै गइरहेको समाजका सदस्यहरुमा नागरिकभावना, नैतिक जिम्मेवारी कायम गराउ सक्नु पनि भक्तपुर नगरपालिकाको विशेषता बनेकोमा दुईमत नहोला।
उपभोक्ता समिति गठन गरी, स्थानीय स्रोत र साधनको मात्र भरपूर उपयोग नभई स्थानीय जनताको सीप र दक्षता प्रयोग गरी सम्पदा पुनःनिर्माण गर्नु पर्ने विगतदेखिकै मान्यतामा डगमग नभई भक्तपुर नगरपालिकाले विकासलाई दीगो बनाउने व्यावहारिक अभ्यास गर्दै आइरहेको छ। उपभोक्ता समितिमार्फत सम्पदाहरूको पुनःनिर्माण गर्दा, टोलका बनाउनुपर्ने पाटी निर्माण, विकास गर्दा ती निर्मित संरचना गुणस्तरीय मात्र भएका छैनन्, प्रत्येक निर्माण सामग्रीमा मनलाई प्रफुल्ल बनाई पसिनाले सिञ्चन गरेका छन्। यसैले ती निर्माण सामग्रीहरु (इँटा, काठ, ढुंगा इत्यादि)मा र निर्माण कार्यप्रति हृदयतटलबाट अपनत्व महसुस गरिरहेका छन्। भक्तपुर नपाले यस नीतिलाई निरन्तरता दि“दै आएको छ ।
यसका थुप्रै प्रमाणहरु भक्तपुुर नगरको चारै दिशा, कोण, मध्य भाग सबैतिर देख्न, अनुभव गर्न सकिन्छ। उदाहरणका लागि हालैमात्र उद्घाटन भएको वत्सला मन्दिर पुनःनिर्माणलाई लिन सकिन्छ। त्यस निम्ति भक्तपुर नगरपालिकाले रु. १ करोड २८ लाख ६२ हजार लगत इस्टमेट पारित गरेको थियो । उपभोक्ता समितिमार्फत आवधिक योजना राखी काम गर्दा रु. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भयो । स्थानीय जनताको सहयोगमा सम्पदा पुनःनिर्माण भइरहेकोमा विभिन्न देशका नागरिकहरूसमेतबाट रु. ६ लाख २७ हजार ५ सय १० सहयोग प्राप्त भएको थियो।
प्रत्यक्ष जन सहभागिताको आधारमा जन श्रमदान, आर्थिक सहयोग जुटाई मौलिक सीप र प्रविधि तथा स्थानीय निर्माण सामग्रीको प्रयोग गरी सम्पदा पुनःनिर्माण आज भक्तपुरको विशेषता बनेको छ । जन स्तरबाटै रु.५० लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरी खोह्र ध्वाखा, रु. १६ लाखभन्दा बढी आर्थिक सहयोग र ४ हजार २ शयभन्दा बढीको जन श्रमदान तथा रु. ५ लाखभन्दा बढीको भौतिक सहयोगमा केही समय अघि जिणोद्घार सम्पन्न ङातापोल्हं मन्दिर र भैरव नाथ मन्दिरलगायतका सम्पदाहरुको जिर्णोद्घार तथा पुनःनिर्माणले भक्तपुरबासी जनताको सम्पदा प्रतिको माया, प्रेम र संरक्षणको भावना प्रष्ट पारेका छन् ।
विश्व सम्पदामा सूचीकृत दरबार क्षेत्र साँस्कृतिक र ऐतिहासिक दृष्टिले एक महत्वपूर्ण ठाउँका साथै सम्पदाहरुको संरक्षणको दृष्टिले भक्तपुरको केन्द्र नै मानिन्छ । जर्मनी बास्तुकलाबिद् नील गोत्सोले भक्तपुरलाई संसारकै ठूलो जिवित संग्रहालय भनी प्रशंसा गरेका छन्। त्यो प्रशंसाबाट नमातेर बरु पुलकित हुँदै भक्तपुरमा विभिन्न देशबाट बर्षेनी लाखौ“को सङ्ख्यामा पर्यटकहरूलाई भक्तपुरको कलाकारिताका अनुपम र बेजोड सम्पदाहरूको रसास्वादन गराइ रहेका छन्।
विदेशी सहयोग, गैरसरकारी संस्था(एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आइएनजिओ)हरूको सहयोग बिना पनि स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको छ । आत्मनिर्भरताले मात्रै आत्मगौरव प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दै नगरपालिका अघि बढेको छ। यही सोच र दृष्टिकोणले नै भक्तपुर नगरपालिकालाई कला—संस्कृति संरक्षित नगरको पहिचान बनाउन सफल भएको छ ।