भक्तपुर। कुनै पनि सरकारी कार्यालयमा होस वा निजीमा संस्थामा कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी सायदै पाउन मुश्किल पर्छ। विशेष गरि सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सरकारले उपलब्ध गराएका सबै बिदा र अतिरिक्त सेवा सुविधा लिन मरिहत्ते गरेको पाइन्छ। एक दिन बिदा बाँकी भएसम्म बिदा लिने कर्मचारी हामीले धेरै पाउँछौँ।
कर्मचारीलाई सरकारले उपलब्ध गराउने भैपरी आउने बिदा, घर बिदा, बेतलबी बिदा, विशेष बिदा, बिरामी बिदा, भ्रमण बिदालगायतका बिदाहरु लिने, यातायात तथा हवाई सेवादेखि होटलको बिलसमेत पेश गर्ने र कतिपयले बिदाको दुरुपयोगसमेत गर्ने गरेको यथार्थ धेरै पाइन्छ। तर मध्यपुरथिमि नगरपालिकामा विगत १८ वर्षदेखि स्थायी रुपमा कार्यरत एक कर्मचारीले भने अहिलेसम्म कुनै पनि बिदा र अतिरिक्त सेवा सुविधा नलिई इमान्दारीका साथ काम गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ।
२०२६ साल असोज १ गते भक्तपुरको गठ्ठाघरमा जन्मनु भएका केशव सिलवाल मध्यपुरथिमि नगरपालिकामा कार्यरत रहेको १८ वर्ष बितेको छ। कानून अधिकृतमा एकवर्ष करारमा काम गर्दै २०५९ भदौ ३ गते मध्यपुरथिमि नगरपालिकामा स्थायी भएर कानून अधिकृतमा सेवा प्रवेश गरेका सिलवालको इमान्दारीताको चर्चा जहाँतहीँ चल्ने गरेको छ।
कानून अधिकृतबाट २०६७ सालमा वरिष्ठ कानून अधिकृत हुँदै २०७४ मा कानून तथा प्रशासन महाशाखाको निर्देशकको रुपमा सिलवाल कार्यरत छन्। यस नपाका स्थायी सेवा शुरु गरेदेखिनै सूचना अधिकारीको समेत जिम्मेवारी सम्हाल्दै आएका उनले जनप्रतिनिधि आउनु अगाडि नगरपालिकामा आउने मुद्धाहरु मध्ये अदालत पठाउनु नपर्ने मुद्धाको निरुपण गर्नेदेखि प्रशासनको जिम्मेवारी सम्हाल्दै आएको सिलवाल बताउँछन्।
यस नगरपालिकामा १८ वर्षको सेवा अवधिमा उनले जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि आएपछि गरि २९ पटक निमित्त प्रमुख भएर नगरपालिकाको प्रमुख जिम्मेवारी समेत सम्हालेका छन्। मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तह उतीर्ण गरेका उनले यस नपामा कानून तथा प्रशासन महाशाखा अन्तर्गत रहेका शिक्षा, कृषि, सहकारी, स्वास्थ्य, लेखा, राजस्व, सामुदायिक, प्रशासन, महिला विकास, वडा कार्यालय लगायतका १४ वटा शाखाको नेतृत्व गर्दै जिम्मेवारी सम्हाल्दै आएका छन्।
सिलवाल भन्छन्, ‘नगरपालिकाका कार्यक्रम, योजना, अनुगमन, सुपरिवेक्षण गर्ने, यहाँका शाखाहरुमा कुनै समस्या आएमा सुल्झाउने, शाखाहरुको काम कारबाहीको रेखदेख गर्ने लगायतका जिम्मेवारी सम्हाल्दै आएको छु्।’ २०५६ सालदेखि बिहान एक कलेजमा कानून विषयको अध्यापन गराउँदै आएका उनी कलेजपछि सिधै नगरपालिका जान्छन्। दैनिक पौने १० बजे अगाडिनै नियमित रुपमा कार्यालय प्रवेश गर्ने सिलवाल अरु कर्मचारी आउनु अगावै कार्यालय पुग्ने र ५ बजे पछि अरु कर्मचारी निस्किए पछि मात्रै आफ्नो कार्यकक्षबाट निस्कने गरेको यहाँका कर्मचारी बताउँछन्। कार्यालयलाई अत्यावश्यक पर्दा उनी रातीसम्म बसेर पनि काम गर्ने गरेको सुनाउँछन्।
महाशाखा निर्देशक सिलवालले भने, ‘जागिरे जीवनको १८ वर्ष लामो अवधिमा मैले आफ्नै घर परिवारमा बिवाह तथा ब्रतबन्ध हुँदा पाँच दिन र जनप्रतिनिधी आएपछि नगरपालिकाकै काममा जापान जादा पाँच दिन गरि १० दिन बाहेक अहिलेसम्म कुनै दिन बिदा बसेको छैन, नत कुनै सुविधा र भत्ता नै लिएको छु।’ अतिरिक्त समयमा काम गरे वापत पाइने ओटीदेखि बिदा नलिए वापत लिने अन्य सुविधा, कुनै पनि भत्ता वा थप तलब सुबिधा केही नलिएको उनको भनाइ छ।
सूचना अधिकारीसमेत रहेका सिलवाल भन्छन्, ‘एक कर्मचारीले वर्षमा ६ दिन पर्व बिदा, ६ दिन भैपरी आउने बिदा र ३० दिन घर बिदा गरि ४२ दिन बिदा पाउछन्, यसलाई जोड्ने हो भने पनि १८ वर्षमा ७५६ दिन म बिदा बस्न पाउथेँ तर मैले १० दिन बाहेक ७४६ दिन बिदा नलिई कार्यालयलाई दिएको छु, मैले बिदा नलिए वापत थप तलब, अन्य सुबिधा वा कुनै पनि शिर्षकमा भत्ता लिएको छैन।’
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकामा इमान्दार कर्मचारीको रुपमा उनलदाई लिने गरेको बताउँछन्। नगरप्रमुख श्रेष्ठ भन्छन्, ‘म नगरप्रमुख भएर आएको चार वर्ष नाघिसकेको छ, सिलवालले म आए पछि जापान जान बाहेक अरु दिन बिदा लिएको थाहा छैन, दिएको सबै जिम्मेवारी पुरा गर्ने र कार्यालय समय भन्दा पहिला आउने र कार्यालय समय भन्दा पछि जाने, जस्तोसुकै अप्ठ्यारो काममा सुल्झाउने इमान्दार कर्मचारीको रुपमा नगरपालिकाले सिलवाललाई पाएको छ।’
नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थी सिलवालप्रति कार्यालयमा कसैले गुनासो नगरेको सुनाउदै गुनासो गर्ने ठाउँनै नराखी उनले काम गर्दै आएको बताउँछन्। उनले पाउने बिदा पनि नलिई काम गरेको देख्दा छक्क परेको बताउँछन् उनी पनि। सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ६ बजे घरबाट निस्केर कलेजमा दुई वटा कानून विषयको अध्यापन गराएर सिधै नगरपालिका जाने उहाँको दैनिक तालिकानै हो । विभिन्न निकायमा श्रोत व्यक्तिको रुपमा समेत सिलवालले पहिचान बनाउदै आउनु भएको छ।
–रमेश गिरी
previous post
next post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556