‘हाम्रो पालामा हामी तिमीजस्तै भएको बेला, तिम्रो उमेरमा हामीले यो गरेका थियौं, यसरी काम गरेका थियौं, तिमीहरुले खै के गर्यौ?’ अहिलेका युवा जमात्प्रति पुरानो पुस्ताको प्रश्न र गुनासो नै यही हो । यो प्रश्न र गुनासोलाई हामीले मात्र विगत, मात्र इतिहाससँग तुलना गर्नु हुन्न, किनभने हामी युवा हौं । हामी युवा भइसकेपछि कम्तिमा पनि यही गर्वको कुरा हाम्रा आगामी पुस्ताका लागि पनि छात्ती फुलाएर भन्न सक्ने अवस्था बनाउनु पर्छ । त्यो इतिहास बनाउने वा नबनाउने ? भन्ने निक्र्योल गर्ने काम स्वयम् हामी युवाकै हो ।
युवा अर्थात् युग हाँक्न सक्ने व्यक्तिको प्रतिरुप । युवा अर्थात् युद्ध छेड्ने क्षताको उम्लिरहेको पानीको वाफ । युवा अर्थात् युक्तिको भरपुर उपयोग गरी वाहवाही बटुल्ने वय वा क्षण । भन्नै परेन, युवा परिवर्तनका संवाहक । युवाको महत्व, विशेषतालाई केन्द्रमा राखी विभिन्न विशेषणका शब्दहरुले सिंगार्न सकिन्छ । युवाको विशेषता नै त्यही हो । विश्वप्रसिद्ध लेखक, विद्धान, चिन्तकहरुले युवाको विषयमा अनेकौं उपमा अर्पण गरेका छन्। मूलतः युवा जोश, जाँगर, हिम्मत, आँट, विवेक आदिका पर्याय नै हुन्। यिनै पर्यायको कराण युवा समाजमा भएका, भइरहेका, र हुने क्रममा रहेका आर्थिक, सामाजिक, रजनीतिक, शैक्षिक, विकास निर्माणका कामलगायतका क्षेत्रहरुमा समेत युवाकै अगुवाई हुँदै आइरहेको छ। युवा, परिवारका सदस्यहरुका मात्र आशा, आड भरोसाका केन्द्र होइनन्, युवा त समाजको प्रत्येक तहका समते भरलाग्दा केन्द्र हुन् । सबैको मध्यबिन्दूमा युवा नै पर्ने गरेको छ । युवामा भएको जोशले समाजमा परिवर्तन ल्याउन केही सहयोग पुग्ला कि भन्ने घोषित, अघोषित दुबै आशा हुन्छ समाजको । निश्चय पनि युवा जिम्मेवारीको अर्को नाम हो।
यसरी समाजको सबैभन्दा महत्वपूर्ण ठाउँमा रहेका युवा भने विभाजित भएका छन् । यही विभाजनको प्रत्यक्ष हानी स्वयम् युवा जगतले नै भोगिरहेका छन् । देश, समाजको हितको निम्ति एक हुनुपर्ने युवाहरु, विगत लामो समयदेखि कुनै विचारधाराका दास जीवन बाँचिरहेका छन् । उनीहरु कोही रुखको आश्रयमा छन्, कोही सूर्यको, कोही हँसिया हथौडाको, कुनै आगोको लप्काको पछि लागिरहेका छन् । यही विभक्त अवस्थाको लाभ सीमित वैचारिक समूह, दल, टोलीले पाएको छ, देशले पाएको छैन ।
युवाहरु विचारका पुञ्ज भएर पनि उनीहरुलाई मनोवैज्ञानिक रुपमा दलका नेताहरुले शोषण गरेका छन् । उनीहरुमा रहेको शक्तिको सीमालाई खुम्च्याएका छन्, दलीय विचारधाराको परिधिले उनीहरुको सीमामा संकुचन भएको छ । सही विचारधारामार्फत् निर्देशित हुनुपर्ने युवाहरुलाई पथभ्रष्ट बनाउने अभ्यास गराइ रहेका छन, केही दलहरु । यसैले युवाहरु परनिर्भर बन्दै गइरहेका छन् । सायद्, यसैको परिणाम भन्नुपर्छ, युवाहरु समाजमुखी कम र अर्थमुखी दिशातिर आफ्ना कदमहरु अघि बढाउँदै गइरहेका छन्। यसैले युवालाई व्यक्तिवादी छाँयाले लखेटी रहेको छ । ऊ पैसाको पछिपछि दौडिरहेको छ । त्यही पैसाका लागि उसले आफ्नो स्वाभिमान बन्धक राखेको समेत उसले पत्तो पाउन सकेको छैन । उसले आफ्नो विवेकीपनलाई लाचारीपनमा रुपान्तरण गरेको छ । युवा निरीह सावित बन्दै गइरहेको आभाष थुप्रैले गर्न थालेका छन् । वास्तवमा पाइन लगाइएका धारिला हतियार हुन् तर उनीहरुलाई राजनीतिले भुत्ते बनाउँदै गएको छ ।
युवाहरुलाई मतिभ्रष्ट बनाउँदैछ । युवा नै मतिभ्रष्ट भएपछि निः सन्देह उसको पथ पनि भ्रष्ट नै हुन्छ । कुनै राजनीतिक दलसँग आवद्ध नभए, त्यो युवा परापूर्व कालका दलितजस्तै हुने अवस्था बनेको हौवा पिटेर युवालाई मनोवैज्ञानिक रुपमा त्रसित पोर्न र बाध्य पार्ने काम राजनीतिक अगुवाहरुले गरेका छन् । यसले युवाको सिर्जनशीलता ¥हास कम ः मरण बढी भइरहेको छ । यसका साथै युवाहरुलाई जानीजानी अपराध कर्मतिर आर्कषित बनाउन पनि दलका नेताहरु आफै लागेका देखिन्छन् । प्रहरी, प्रशासन, न्यायालयलाई प्रभावमा पारेर, गुण्डागर्दी गरेका, जुवातास खेलिरहेका, समाजमा अवाञ्छनीय गतिविधि गरेकालाई ‘आफ्नो मान्छे’, ‘आफ्नो पार्टी सदस्य’ को ट्याग दिएर प्रहरी, प्रशासनको पञ्जाबाट छुटकारा दिलाउने गैरकानूनी कदमहरुले युवाहरु अपराध कर्म गर्न समेत पछि परेका छैनन् । पदीय मर्यादा कायम गर्नु सट्टा त्यसको दुरुपयोग गर्दा युवाहरुले बाटो बिराएका छन् । यसले युवाहरुलाई स्वाभिमानी नभई अभिमानी बनाइ रहेका छन् । युवालाई आफ्नो व्यक्तिगतमात्र नभएर, पार्टीगत अझ भन्नुपर्दा पार्टीभित्रको गुटगत स्वार्थ सिद्ध गर्ने बलियो आधार स्तम्भका रुपमा उपयोग गरेका दृष्यहरु सडकमा मात्र नभएर थुप्रै निकायहरुमा देखिन थालेका छन् । यसको ताजा उदाहरण एमालेमा देखिएको दुई समूह(ओली पक्ष र माधव पक्ष)मा लाग्ने युवाहरु बनेका छन् । पार्टी एउटै, विचार एउटै, सिद्धान्त एउटै, गन्तव्य एउटै भएर पनि नेतृत्वबीचको टकराब, वैमनस्यता, ईख फेर्ने दाउको सिकारमा युवा परेका छन् ।
युवाहरु विभक्त हुनु हुन्न । युवाहरु एकताका प्रतीक हुन् । कुनैको भड्कावमा परेर, कुनैको प्रभावमा परेर, दबाबमा परेर, प्रलोभनमा परेर युवाले आफ्नो विवेक गुमाउनु हुन्न । विवेक गुमाएपछि युवामात्र होइन जोकोहीले पनि आफ्नो स्व गुमाउँछ । त्यो स्व कायम राख्नका लागि पनि युवाहरुमा आलोचनात्मक चेतको विकास हुन जरुरी छ । आफूलाई कसरी सिर्जनशील बनाउन सकिन्छ ? भन्ने विषयमा चिन्तन मनन् गरी युवाले आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ । किनकि देश युवाको हो । यसलाई प्रत्येक युवाले आफ्नो ढुकढुकीमा सजाउनु पर्छ ।
विश्व सर्बहारा वर्गका महान गुरु माक्र्सले त्यतिकै युवाहरुलाई ‘युवाहरू हो! जिते संसार छ, हारे केही पनि छैन’ भनेर भनेका हैनन् । तर अहिले युवाहरुले जित्नुपर्ने भनेको आफैलाई हो । युवा आफैमा अहिले अलमलमा छ । के गर्दा सफल होइन्छ ? भन्ने विषयमा अझ युवाहरुमा अन्योल हुनुको कारण देशको अस्थिर राजनीति हो । अस्थिर राजनीतिले युवाहरुमा पनि अस्थिर मनोविज्ञान पैदा भएको छ । यही अस्थिर राजनीतिले गाँजेका युवाहरु राजनीति गर्ने राजनीतिकर्मीका मोहरा बनिरहेका छन् । देशको अवस्थादेखि दिक्क छन् एकथरी युवाहरु । देशमा केही नभएको देखी निराश छन्, अर्कोथरी युवाहरु । देशमै केही गर्नुपर्छ भन्ने भावनाका पनि छन् केही युवाहरु । निराश भएका युवाहरुलाई मनोवैज्ञानिक रुपले उपचार नगरी हुन्न, तर केही गर्ने हुटहुटी भएका युवाहरुलाई कम्तिमा पनि उचित वातावरण बनाउनु पर्छ । यो काम राजनीतिक स्थायित्वले सम्भव छ । अब त युवाहरुले यही राजनीतिक स्थायित्वका लागि संघर्ष चालू राख्नपर्ने भएको छ।
निश्चय नै सर्वहारा वर्गकै अर्का गुरु माओले पनि युवालाई भनेका छन् ‘यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो’ भनेर उनले जोड दिनुका पछाडि युवाहरुप्रतिको विश्वास हो भन्दा फरक पर्दैन । कारण युवाहरु नै कर्णाधार हुन् । उनीहरुले नै देशलाई काँधमा नबोकी हुन्न । यसैले युवाहरु युगले खोजेको व्यक्ति बन्न जरुरी छ ।
previous post
भक्तपुर टाइम्स
Bhaktapur Times Pvt. Ltd.
Bhaktapur’s Leading News Portal
Bhaktapur Times Dot Com
24/7 News From Bhaktapur
#BHAKTAPUNEWS
सञ्चार रजिस्ट्रारकाे कार्यालय, बागमती
दर्ता नंः ०००९६ /२०७८/०७९
चाँगुनारायण नगरपालिका,ताथली ,भक्तपुर
+977-9841566556
bhaktapurtimes@gmail.com
info@bhaktapurtimes.com
विज्ञापनका लागि
+977-9841566556