हरिसुन्दर छुकां/ काभ्रेको तिमालका ईश्वर थोकर, भक्तपुरमा बस्दै आएका छन्। आफ्नो बाल्यकाल भक्तपुरका इँटासँग खेल्दै, भक्तपुरेहरुसँग संगत गर्दै, भक्तपुरका मठमन्दिर, पाटीहरुमा खेल्दै हुर्केका कारण उनी भक्तपुर भन्ने बित्तिक्कै हुरुक्कै छन्। अहिले पनि भक्तपुर बस्दै आएका उनी छोटो कविता लेख्न सिद्धहस्त व्यक्ति हुन्। छोटो कविता लेख्ने कविको छवि बनाउन सफल ईश्वर थोकरको हालसालै ‘लीला’ (शृङ्खाल कविताको संग्रह) प्रकाशित भएको छ।
कुनै व्यक्ति, घटना, दिनलाई पनि निक्कै महत्व दिने अन्तरमुखी स्वभावका ईश्वर नियमित रुपमा डायरी लेख्छन्। व्यक्तिसँगको भेट उनको डायरीमा भेटिन्छन्, तर निक्कै संक्षिप्त रुपमा। यो पनि उनको नखुलेको परिचय हो। संस्मरण लेख्न विशेष रुचि भएका थोकर तामाङ भाषा र नेपाली भाषामा साहित्य रचना गर्छन्। कुनै राम्रा रचनाहरुलाई तामाङ भाषामा समेत अनुवाद गर्ने खुबीमा ईश्वर थोकरले पिङ्गाई(गजल संग्रह, २०६८), प्लिक्सी (कविता संग्रह,२०६९), नोरी(कविता संग्रह, २०७४) ल्हुइला गोङमा(संस्मरण, २०७६) प्रकाशित छन्। तामाङ ग्योइकाई पुरस्कार, २०७१ बाट सम्मानित उनी अहिले कोशिश संस्थामा आवद्ध छन् । जीवनको महत्वपूर्ण समय कष्टका साथ बिताएका र अहिले पनि मानसिक रुपमा तन्दुरुस्त हुन नसकेका ईश्वर थोकरको जीवनलीलामा ‘लीला’(उनकी जीवनसंगिनी) को प्रवेशपूर्व, प्रवेश समय र प्रवेशपछिको अवस्थालाई उनले निक्कै छोटो कवितामा अभिव्यक्त गरेका छन्।
उनको पछिल्लो कविता संग्रह ‘लीला’मा जम्मामा चौध कविताहरु छन्। कवितामा उनले प्रेमी र प्रेमिकाका भावनाहरु समेटेका छन्। प्रायः प्रेमी–प्रेमिकाका समस्याहरु तुलनात्मक रुपमा साझा हुन्छन्। त्यही साझा समस्यालाई प्रकट गर्ने तरिका फरकफरक हुन्छ । कवि थोकरले पनि ती समस्यालाई कवितात्मक रुपमा व्यक्त गरेका छन्।
कवितालाई प्रेम गरेका, कविताका विम्व, प्रतीकसँग खेल्दै कविता जन्माउँदै हुर्केका कवि थोकरका कविता छोटा, तर चोटिला छन्। एउटा सिंगो महाकाव्य, उपन्यासले बोकेको कुरा उनी ५÷७ लाइनको कविताले खँदिलो बनाउँछन्। यो उनको विशेषता र मौलिकता दुवै भन्दा फरक नपर्ने तथ्य ‘लीला’ भित्रका कविताहरुले प्रतिविम्वित गरेका छन्।
उनी भन्छन्,
खासमा
म आवारा थिएँ– सेमह्रो !
तिमीलाई भेटेपछि
तुरुन्तै
सुध्रिएँ ।
हो, प्रेमको शक्ति नै यही हो, प्रेमले सिर्जना, सकारात्मकतातर्फ मानिसलाई डोर्याउँछ। बाँच्ने, बचाउने प्रेरणा हृदयपटलबाट दिन्छ। उनका कविताहरुमा पनि यही प्रेरणा भेटिन्छ। मानसिक वार्डमा रहँदा पनि, दुःखकष्टलाई जीवन ठानेर अघि बढेका उनको जीवनमा लीलाले जीवनप्रतिको आदर्श रङ पोत्न थालेपछि आएको परिवर्तनको प्रतिरुप लीला हो।
उनी अगाडि लेख्छन् :
भन्न पनि
शरम लाग्छ– सेमह्रो !
‘अब,
म
कुमार
रहिनँ।’
००० ००० ०००
तिमी
र
म
सशरीर भेट्नुअघि नै
तिमीले गर्वसाथ भनेकी थियौ–
‘तिमी मेरा लागि योग्य छौ।’
नभन्दै ईश्वरकी लीला(लीला पुनमगर) भन्छिन्, ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थेँ, उनको नजिक पर्न चाहन्थे। उनलाई तुरुन्तै जीवनसाथी बनाउन चाहन्थेँ। उनीसँगै जिउन चाहन्थेँ, उनीसँगै मर्न चाहन्थेँ। यसरी परिकल्पना गरेको दश वर्षपछि उनलाई मैले जीवनसाथीको रुपमा पाएको छु। थ्याङ्क्स गड !’ वास्तवमा ईश्वरको ‘लीला’भित्रका सबै कविताहरुको गर्भ नै ईश्वरकी लीलाले अभिव्यक्त गरेको भावना हो।
कवितामा ईश्वर अघि बढ्छन्,
तिमीले मलाई
गम्भीर भएर
एकजोर सुझाव दिएकी थियौ–
‘कुलतमा नफस्नु
र, केटीको पछि नलाग्नु।’
के म त्यस्तो छु र
सेमह्रो ?
उनका कविताहरुमा कथा लुकेको छ प्रेमी–प्रेमिकाको, जीवनको, भविष्यको। ईश्वरको लीलाका कविताहरुलाई किशोर साहित्यमा राख्न सकिन्छ। उनका कविताहरु पढ्दा प्रेमका कुनै गहकिला उपन्यास, कथा पढेजस्तै आभाष हुन्छन्।
जीवनमा उतारचढाव आइरहन्छन्, यही नै जीन्दगीको सौन्दर्य पनि हो। यही सौन्दर्यलाई पछ्याउँदै बाँचिरहेका ईश्वरको लीलाले बोकेको प्रेमिल कविताहरु सामान्य मानिसदेखि आलिसानको जीन्दगी भोगिरहेकाको दैनिकी समेटेको छ। अन्तिममा उनी थप्छन् ः
ल्हुइह्रो !
जीवन यसैगरी बग्दै जाने हो।
तामाङ, मगर भाषाका शब्द टिपेर लेखिएका कविताहरुले उनका कविताहरुको सौन्दर्य बढाउन सहयोग गरेको छ। कवितामा अर्कै स्वाद भरेको छ। आदिवासी शब्द टिपेर उनिएका उनका कविताहरुको यात्रा अझ सुगम बनोस्।
पुस्तक : लीला
कवि :ईश्वर थोकर
प्रकाशक : स्वीकृति थोकर
मूल्य : १५०।–